तस्बिरः गुगल ।

हेटौैैंडाः मकवानपुर जिल्लामा कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका झण्डै ५५ हजार जनाले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । जिल्लामा हालसम्म कुल ८६ हजार ३ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाउँदा कोभिशिल्ड र भेरोसेल खोप लगाएका ५४ हजार ९ सय ३४ जनाले दोस्रो डोजको खोप लगाउन नपाएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कोभिशिल्डको पहिलो डोज लगाउने २१ हजार ८ सय ५५ जना रहेका छन् । यीमध्ये अधिकांशले पहिलो डोजको खोप गत फागुन महिनामै लगाएका छन् । जसमा अधिकांश ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिक रहेका छन् । गत फागुनमा नै जिल्लाका सबै स्थानीय तहका वडावडामा ७५ वर्षभन्दा माथिकालाई कोभिशिल्डको पहिलो डोज लगाइएको थियो । त्यसपछि वडामा कोभिशिल्डको दोस्रो डोज वडामा पुग्न नसक्दा ती जेष्ठ नागरिकहरु ४ महिनाभन्दा बढी समयदेखि दोस्रो डोजको खोप कुरेर बसिरहेका छन् ।

छिमेकी देश भारतबाट आएको उक्त कोभिशिल्ड खोप एक चरण आएपछि ७५ वर्ष माथिका सहित पहिलो प्राथमिकताका व्यक्तिहरुलाई लगाइएको थियो । पुनः उक्त खोप नआउँदा केही बाँकी बसेका खोपहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत फ्रन्टलाइनमा खटिएकालाई दोस्रो डोज लगाइएको थियो । जिल्लामा कोभिशिल्डको दोस्रो डोज भने ८ हजार ३ सय ७५ जनालाई मात्र लगाइएको छ । भारतसँग खोप खरिद प्रक्रिया अगाडि बढेर रकम भुक्तानी भइसकेको अवस्थामा कारणवश खोप नेपाल पठाउन भारत सरकारले रोकेको कारण खोप आउन नसकेको बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताउनुभएको छ ।

बेलैमा खोप नआउनाले जेष्ठ नागरिकहरुले भने समस्या भोगिरहेका छन् । कोभिशिल्डको दोस्रो डोज कुरेर बसेका जेष्ठ नागरिक वडामा हरेक पटक खोप लगाउने कार्यक्रममा पुग्ने गरेका छन् । तर कोरोनाविरुद्ध नै लगाइएको खोप उहाँहरुले लगाएको कोभिशिल्ड नभई अन्य भेरोसेल भएकाले न त उहाँहरुले कोभिशिल्डको दोस्रो डोज पाउनुभएको छ, न त स्वास्थ्यकर्मीले अर्को भेरोसेल खोप नै लगाइदिन्छन् ।

यसैगरी चीनबाट आएको भेरोसेल खोपको पहिलो डोज लगाएका ३३ हजार ७९ जनाले पनि दोस्रो डोज लगाउन पाएका छैनन् । जिल्लामा हालसम्म पनि भेरोसेल खोप लगाइरहेकाले दोस्रो डोज लगाउन बाँकी नागरिक बढी भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो । हाल बाँकी रहेको भेरोसेल खोप पनि लगाउने कार्य भइरहेको छ । भेरोसेल खोप पुनः ४ हप्ताभित्रमा आइपुग्ने र दोस्रो डोज लगाउन बाँकी रहेका नागरिकहरुलाई लगाइने पनि उहाँले जानकारी दिनुभयो । यस्तै भेरोसेल खोपको दोस्रो डोज भने ६ हजार १ सय ९२ जनाले लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । भेरासेल खोप पहिलो दोस्रो र तेस्रो पटक गरी ४२ हजार ५ सय डोज खोप आएको थियो । जसमा पहिलो पटक ६ हजार ५ सय दोस्रो पटक २६ हजार र तेस्रो पटक १० हजार गरी ४२ हजार ५ सय खोप मकवानपुरमा ल्याइएको थियो ।

यही साउन १२ गतेबाट मकवानपुर जिल्लाका अधिकांश वडाहरुमा लगाउन सुरु गरिएको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन बिहीबारसम्म १६ हजार ८ सय २९ जनाले लगाएको जनाइएको छ । एक डोजमात्र लगाए हुने उक्त खोप जिल्लामा २३ हजार डोज आएपनि ३ दिनमा १६ हजार ८ सय २९ जनालाई मात्र लगाइएको छ ।

बाँकी खोप पनि लगाउने कार्य भइरहेको प्रमुख उपाध्यायले बताउनुभयो । अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप लगाउँदा केही नागरिकहरुमा टाउको दुख्ने, शरीर गल्नेजस्ता सामान्य समस्या देखिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म खोप लगाउँदा कुनै ठूलो समस्या भएको घटना जिल्लामा नदेखिएको पनि उहाँले बताउनुभएको छ ।