प्रदीप पराजुली

हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माविको व्यवस्थापन समिति अध्यक्षमा प्रदीप पराजुली चयन हुनुभएको छ । अभिभावक भेला भएको करिब ४ महिनापछि मंगलबार अध्यक्षमा पराजुली चयन हुनुभएको हो । सर्वसम्मत रुपमा पराजुली अध्यक्ष चयन हुनुभएको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ ।

गत चैत १४ गते अभिभावक भेलाको आयोजना गरिएको थियो । अभिभावक मध्येबाट ४ जना सदस्य चयन गर्नुपर्नेमा २६ जना आकांक्षी देखिएपछि सदस्य चयन हुन सकेको थिएन । बैशाख १६ गते अभिभावक मध्येबाट ४ जना सदस्य चयन गरे पनि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन । गत बैशाख १६ गते प्रदीप पराजुलीसहित नारायणी पराजुली, रिता कुँवर र सुरेश मिजार विद्यालय व्यवस्थापन समितिको चयन हुनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको होडबाजी चलेको थियो । हेटौंडा उपमहानगरकै उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक प्रगति माविमा पहिलो पटक कांग्रेस समर्थक अभिभावक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएको हो । मंगलबार विद्यालय व्यवस्थापन समितिको सदस्यमा ज्ञानेन्द्र लामिछाने र सीता अधिकारीलाई चयन गरिएको थियो । यस्तै शिक्षक प्रतिनिधिमा कमल पाल अधिकारी चयन हुनुभएको थियो । वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापक पदेन सदस्य रहने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिमा सदस्यको पूर्णतासँगै अध्यक्ष चयनको प्रक्रिया पनि पूरा भएको हो ।