नीता गिरी कक्षाः १२ चन्द्रोदय मावि, हेटौंडा–८, मकवानपुर

जन्माई मलाई दुःख गरेर हुर्कायौ तिमीले
आकाशको तारा देखाई देखाई फुक्र्यायौ तिमीले
मलाई चोट लागेमा कतै दुख्दथ्यो तिम्रो मन
अहिले मलाई किन टाढा पठाउँदै छौ ? भन

अर्काको घर जाने जात भन्थ्यौ सानैदेखि
सबै काम सिकाउँथ्यौ मैले जानेदेखि
भन्थ्यौ भोलि अर्काकोमा दुःख हुन्छ नानी
नजानेमा घाँस दाउरा र बोक्नलाई पानी

छोरीले चैं अरूको घर जानै पर्ने अरे
नत्र बाआमाको इज्जत जान्छ भन्छन् भरे
जसले जे जे भने पनि सही बस्नुपर्छ
देख्दा त यो छोरीको जीवन बरर आँसु झर्छ

अर्काको घर जाने जात माइतीले भन्ने
घरकाले नि सँधैभरि पराईमै गन्ने
छोरीहरूको सपनामा सल्काइन्छ आगो
होइन र ए आमा । त्यो छोरी तिम्ले ‘पा’ को

बुहारी भै गएपछि सबै काम गर्नुपर्ने
मर्नपरे घरका लागि हाँसी हाँसी मर्नुपर्ने
कस्तो जन्म दियौ प्रभु छोरी जातैको
नारीलाई सम्झन्छन् यहाँ मैलो हातैको