हेटौंडाः मकवानपुरमा साउन ७ गतेसम्म गरिएको निषेधाज्ञाको प्रभाव हेटौंडामा भने शुन्य रहेको छ । जिल्लामै सबैभन्दा बढी भिडभाड हुने हेटौंडाको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझको चहलपहलले मकवानपुरमा नाम मात्रको निषेधाज्ञा लागु गरिएको होकी भन्ने प्रश्न उठेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत असार ३१ गते राती १२ बजेदेखि साउन ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निर्णय गर्दै गत बिहिबार निषेधाज्ञाका पलना गर्नुपर्ने नियमहरुको बारेमा निर्देशन दिइएको थियो । जसअनुसार धेरै जसो नियमहरु हेटौंडा बजारमै उल्लङ्घन भइरहँदा सम्बन्धित निकाय भने मुकदर्शक बनेको छ । नियमअनुसार खाद्यान्न तथा तरकारी पसलहरु बिहान ४ बजेदेखि बिहान ११ बजेसम्म मात्र खोल्न पाइने उल्लेख छ । तर उक्त नियमको पालना भने हुन सकेको छैन । हेटौंडा बजारका मुख्य तरकारी बजारहरु खोपेगल्ली र बसपार्क क्षेत्रको तरकारी बजार शुक्रबार देखि नै दिनभर खुल्दै आएका छन् ।
सवारी अटो, मयुरीलगायतका सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणालीको समेत बेवास्ता गरिदै हेटौंडा बजारमा अटो मयुरी मनलाग्दी रुपमा कुदिरहेका छन् । यसैगरी बजार जान आवश्यक काम भएको अवस्थामा मास्क लगाउन तथा भौतिक दुरी कायम गर्न बारम्बार जानकारी गराइरहँदा तथा त्यसको कार्यान्वयनका लागि हेटौंडाका विभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरी मास्क अभियान संचालन पनि भयो । तर हेटौंडा बजारमा अधिकांश मानिस सामान्य अवस्था झैं बिना मास्क तथा भौतिक दुरी कायम नगरी हिडिरहेको अवस्था छ । निषेधाज्ञाको सुरुवाती समयमा मास्क नलगाउनेलाई समाएर जरिवाना गर्ने तथा नियन्त्रणमा लिने कार्य भएपनि हाल भने बजार क्षेत्रमा खटिएका प्रहरीहरु दर्शक बनेर बस्ने बाहेक केही गरिरहेका छैनन् ।
नियमहरुको पालना तथा निर्णयहरुको कार्यान्वयन नै नभइरहेको अवस्थामा निषेधाज्ञा ‘गरिस् ? भन्दा गरेँ’ भन्ने किसिमको कार्य मात्र गरेर बाँकी नागरिकमा भ्रम मात्र फैलाउनु उचित देखिदैन । यस्तै बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र अन्य व्यवसायहरु (गैर खाद्यान्न) संचालन गर्ने भनिरहँदा प्रहरी तथा प्रशासन पनि त्यहि व्यवसायहरुको मात्र पछि लागेको हो की ? भन्ने व्यवसायीहरुको गुनासो छ । सबैलाई बराबर नियम हुनुपर्ने स्थानमा गैर खाद्यान्न व्यवसायलाई चै समय हुने बित्तिकै सटर तान्न आउने र बिहान ११ बजेसम्म भनिएको तरकारी तथा खाद्यान्न पसल दिनभर संचालन हुँदा पनि प्रशासनले नदेख्नु विभेदपूर्ण रहेको व्यवसायीहरुको आरोप छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निगरानी राख्ने बताउदै आउनुभएको छ । तरपनि उचित कार्यान्वयन भने हुन सकेको छैन । हाम्रै सुरक्षाको लागि बनाइएको नियमहरु हामी आफैले बुझेर पालना गर्नुपर्ने उहाँले भन्नुभयो । नबुझेर जबरजस्ती गर्नेहरुलाई जति नियम बनाएपनि नहुने उहाँको भनाई रहेको छ । तरकारी पसलहरु बिहान ११ बजेसम्म मात्र खुल्ने नियम हो र सोही अनुसार कार्यान्वयन गराइने पनि उहाँले जानकारी दिनुभयो । अटेर गर्नेलाई कारवाही हुने समेत उहाँले बताउनुभएको छ ।