हेटौंडाः कोरा साइक्लिङ च्यालेन्ज–२०२१ शनिबार हेटौंडामा सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको पहिलो शनिबार देशव्यापी रुपमा आयोजना हुने कोरा साइक्लिङ च्यालेन्ज यस बर्ष पनि हेटौंडामा सम्पन्न भएको हो ।
हरेक बर्ष भव्य रुपमा आयोजना हुने कोरा यस बर्ष कोरोना महामारीको कारण सामान्य ढङ्गबाट आयोजना गरिएको छ । यस बर्षको कोरामा भौतिक दूरी कायम गरी २ वटा समूहले फरक स्थानमा कोरा सम्पन्न गरेको मकवानपुर साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभयो ।
११ जनाको एक समुहले हेटौंडाको भुटनदेवी मन्दिरबाट यात्रा सुरु गरेर चौघडा, चुच्चेखोला, राजदेवी, एक्लेखेत, फुर्केचौर, हर्नामाडी तथा हटिया भएर पुनः चौघडा हुँदै हेटौंडाको बुद्धचोकमा आएर यात्राको समापन गरिएको उहाँले बताउनुभयो । उक्त यात्रामा साइकलयात्रीले ४३ किमी दूरी पार गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै ९ जनाको अर्को समूहले पशुपति मन्दिर, भुटनदेवी मन्दिर, चुरियामाई मन्दिर र वनस्खण्डी मन्दिरको यात्रा तय गरेका छन् । कार्यक्रम मकवानपुर साइक्लिङ ग्रुपका जीवन तिमल्सिनाको संयोजकत्वमा भएको हो ।
९ बर्षअघि काठमाडौंबाट सुरु भएको कोरा यस बर्ष देशभरका २५ स्थानमा एकैपटक यसैगरी सामान्य किसिमले आयोजना भएको छ । कोराको अर्थ आफ्नो क्षेत्रमा भएका मठमन्दिरलाई साइकलबाट परिक्रमा गरी आफैंलाई गर्ने च्यालेन्ज हो ।