हेटौंडाः सर्वोच्च अदालतको फैसलाको विषयमा हेटौंडामा नेकपा एमालेले बिरोध प्रदर्शन गरेको छ भने नेपाली काँग्रेसले स्वागत कार्यक्रम आयोजना गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले जारी गरेको परमादेश असंवैधानिक भएको भन्दै नेकपा एमाले निकट भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सोमबार हेटौंडाको बुद्धचोकमा केपी ओली निकट अनेरास्ववियु मकवानपुर, अखिल नेपाल महिला संघ मकवानपुर, राष्ट्रिय युवा संघ मकवानपुर, नेपाल खेलकुद महासंघ मकवानपुरलगायतका भातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका थिए । सर्वोच्चको आदेश दलीय व्यवस्था र जनादेशको विरुद्ध भएको भन्दै उनीहरुले दलीय व्यवस्था कायम गर्नुपर्ने, परमादेशबाट नभई जनादेशबाट सरकार सञ्चालन हुनुपर्ने, सर्वोच्चको फैसला खारेज हुनुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइँदैन, परमादेश होइन जनादेश, लालगद्दारहरु होशियार, सर्वोच्च अदालत होशियारलगायतका नारा लगाएका थिए ।
उनीहरुले सर्वोच्चको असंवैधानिक कदम कुनैपनि हालतमा मान्न नसकिने भन्दै सर्वोच्च अदालतको प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गर्ने फैसलालाई समेत जलाएका छन् । उनीहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाली का“ग्रेस प्रवेश गरेर चुनाव लड्न आउनु भन्दै आक्रोश व्यक्त गरेका छन् ।
यस्तै, सर्वोच्चको फैसला संविधानसम्मत भएको भन्दै नेपाली काँग्रेस मकवानपुरले दीप प्रज्ज्वलन गर्दै फैसलाको स्वागत गरेको छ । सोमबार साँझ हेटौंडाको बुद्धचोकमा नेपाली काँग्रेससहित माओवादी केन्द्र तथा माधवकुमार नेपाल पक्षका भातृ संगठनले दीप प्रज्ज्वलन गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट बारम्बार संविधानको हत्या गर्ने काम भएको भन्दै सर्वोच्चको फैसलाले संविधानको जीवनरक्षा भएको उनीहरुले बताएका छन् । सर्वोच्चको फैसलाले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दा पनि केपी ओलीबाट बारम्बार संविधानको हत्या हुनबाट बचाएकाले खुशियाली मनाइएको उनीहरुको भनाई छ ।
जनताले ५ वर्षका लागि सरकार चलाउन पठाउँदा समयअगावै बारम्बार संसद विघटन गर्ने काम भइरहेको अवस्थामा शेरबहादुर देउवाले विश्वासको मत लिएर बाँकीको डेढ वर्ष सरकार चलाएरमात्र चुनावमा जाने नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् । यदि सभापति देउवाले विश्वासको मत नपाएको अवस्थामा देउवाकै नेतृत्वमा ६ महिनापछि चुनाव हुने उनले बताए । खुशियालीका रुपमा भएको प्रदर्शनमा पनि उपस्थित भएकाहरुले केपी ओलीको बिरोध गरेका थिए । उनीहरुले खुशियाली प्रदर्शन गर्दै आज होइन भोलिलाई लैजा तेरो ओलीलाई, प्रतिगमन ढालियो केपी ओली फालियोजस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा नेपाली कांग्रेस, नेपाल विद्यार्थी संघ, तरुण दल, वाइसीएल, अखिल क्रान्तिकारीसहित दुबै दलका विभिन्न भातृ एवम् शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।