हेटौंडाः बागमती प्रदेश सरकारको अर्थसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सोमबार बिहान बसेको प्रदेशसभा बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । उक्त विधेयकमाथि छलफलको क्रममा मन्त्री ढुंगेलले सरकारले प्रस्तुत गरेको विधेयकमा करको दायरा बढ्दा पहुँचमा नरहेका सर्वसाधारण, निजी व्यवसायी र उद्यमीले कुनै कठिनाई भोग्न नपर्ने तथा सरकारको कर राजस्व असुलीमा तीव्रता ल्याइने धारणा व्यक्त गर्नुभयो ।

उहा“ले प्रदेश सरकारले जनताको बृहत् हितका लागि चालिने कदम र राष्ट्रिय गौरवका आयोजनाको विनियोजित बजेट बाँडफाँड गरिँदा सत्ता र प्रतिपक्षी भनेर कसैलाई पनि उपेक्षा नगरी समान व्यवहारका साथ कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गर्नुभयो । बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । ती दुबै प्रस्तावलाई बैठकले सम्बन्धित समितिमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ ।

यसैगरी बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आलेमगरले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि सोमबारै पेश गर्नुभयो । प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशसभाका सभामुखलाई बैठक कक्षमा विद्युत् र अन्य उपकरण अवरुद्ध हुन पुग्दा आइतबार साँझको बैठकलाई सोमबार बिहान सार्न आग्रह गर्दागर्दै पनि सत्तारुढ दलको एकपक्षीय आग्रहबाट प्रमुख प्रतिपक्षी अनुपस्थित रहेका अवस्थामा नै बजेट पारित हुनु संसदीय व्यवस्थामाथि नै सरकारले आघात पु¥याएको आरोप लगाउनुभयो ।