हेटौंडाः ‘जुनियर एन्ड युथ च्याम्पियनसिप’ अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटका लागि मकवानपुरका बक्सिङ खेलाडी काठमाडौं पुगेका छन् । संयुक्त अरब इमिरेट्सको राजधानी दुबईमा आगामी अगस्ट १६ तारिख अर्थात् साउन ३२ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि छनोट खेल खेल्न मकवानपुरका ३ खेलाडी काठमाडौं पुगेका हुन् ।

आइतबारदेखि ३ दिनसम्म काठमाडौंमा हुने छनोट खेलका लागि मकवानपुरका बक्सिङ प्रशिक्षक लाला पौडेल तथा मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीसहित खेलाडीहरु शनिबार काठमाडौं गएका छन् । विभिन्न १३ वटा तौल समूहमा हुने छनोट खेलमध्ये मकवानपुरका खेलाडीहरुले ३ वटा तौल समूहमा मात्र सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि जुनियरतर्फ १५ देखि १६ वर्ष उमेर समूहमा ४८ केजी तौल समूहकी रश्मी घलान, ५४ केजी तौल समूहकी बिकिता मोक्तान र युथतर्फ १७ देखि १८ वर्ष उमेर समूहमा ६४ केजीका सोहन राईले छनोटमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक पौडेलले जानकारी दिनुभयो ।

१३ वटा तौल समूहमा हुने प्रतियोगितामा १३ जना विजेता भएपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ जनाले मात्र सहभागिता जनाउन पाउने जनाइएको छ । छनोट चरणमा जीत हासिल गरेपनि खेलाडीहरुको ‘गेम स्किल’ का आधारमा ४ जना खेलाडीलाई मात्र प्रतियोगितामा सहभागिता गराउने नेपाल बक्सिङ महासंघले जनाएको प्रशिक्षक पौडेलले बताउनुभयो । खेलाडीहरुले जीतका साथसाथै उत्कृष्ट प्रदर्शन गर्ने कुराको पनि ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ ।

छनोट प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीहरुको खाने–बस्नेलगायतका सबै खर्च स्वयम्ले व्यहोर्नुपर्ने भएकाले खेलाडीहरुमा झन् भार थपिने देखिएकाले खेलाडीहरुको खर्चका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । खेलाडीहरु काठमाडौंसम्म जान, बस्न, खान तथा फर्किनका लागि भन्दै मकवानपुर जिल्ला खेलकुद विकास समिति, जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशी, हेटौंडा–१४ स्थित युनिक बक्सिङ क्लबका अध्यक्ष गोकुल मोक्तान, पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, रेफ्री अनिल दाहाललगायतले आर्थिक सहयोग प्रदान गर्नुभएको प्रशिक्षक पौडेलले जानकारी दिनुभयो ।