बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल

हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले असार मसान्त भित्रै आगामी वर्षको बजेट पास हुने बताउनुभएको छ । उहाँले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही असार मसान्त भित्रै बजेट पास हुने दाबी गर्नुभयो ।

गएको शनिबार देखि बागमती प्रदेश सभा स्थगित हुँदै आएको छ । विद्युतीय बस खरिद प्रक्रियालाई लिएर विपक्षी दलहरुले सदन चल्न दिएका छैनन् । यद्यपि भोलि शनिबार प्रदेश सभा बस्दैछ । तर विपक्षी दलले संसद फेरि अवरुद्ध गर्छन या चलाउन दिन्छन् भन्ने यकिन भइसकेको अवस्था छैन ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री रामेश्वर फुयाँलले मन्त्रालयले आगामी वर्षम गर्ने कार्यक्रमको बारेमा जानकारी दिनुभयो । मन्त्री फुयाँलले आगामी वर्षमा विद्युतीय बस, चार्जिङ स्टेशन, सुरुङमार्गको काम अघि बढ्ने बताउनुभयो । उहाँले बागमती प्रदेशलाई हरित प्रदेशको रुपमा विकास गर्न चाहेको बताउनुभएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव संजीव वराल, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।