भीमफेदी गाउँपालिकाको सातौं गाउँसभा कार्यक्रम ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य लिएर गाउँपालिकाले पर्यटन क्षेत्रसँग सम्बन्धित खेल क्षेत्रको समेत विकास गर्ने योजना बनाएको छ ।

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पर्यटन क्षेत्रलाई विकास गर्नका लागि गाउँपालिकाले विविध योजनाहरु तयार पारेको छ । जसमा खेल क्षेत्रलाई समेत समेटिएको छ ।

आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ गाउँपालिकाले साइकल ट्रयाक निर्माणको कामलाई निरन्तरता दिएको छ । वडा नं. ९ मा पर्ने गोडमोलदेखि देउराली–कोगटे–महावीर हुँदै फाप्लाङसम्मको लालीगुराँस साइकल ट्रयाक निर्माण र विस्तारलाई आगामी वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिइएको हो ।

गाउँपालिकाले प्रदेश सरकारको सहलगानीमा ६ नं. वडाको खोरभञ्ज्याङदेखि हात्तीसारसम्म जीपलाइन सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । यस्तै आगामी आर्थिक वर्षमा वडा नं. ५ को धुन्धुरे खोलामा साहसिक खेलको रुपमा परिचित बञ्जीजम्पिङ तथा वडा नं. ९ को झिरघारी तारेभिरमा रक क्लाइम्बिङ क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यक्रम अघि बढाउने तयारीमा गाउँपालिका रहेको छ ।

यसैगरी गाउँपालिकाको वडा नं. ६ स्थित सिमलटार मिनी रंगशाला तथा वडा नं. ४ निबुवाटारमा प्रदेश सरकारसँगको समेत सहकार्यमा निर्माण भइरहेको चिउरी बगैंचा मिनी रंगशाला निर्माणको कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिई निर्माण सम्पन्न गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिनुभयो ।

भीमफेदीमा खेल क्षेत्रलाई अझै प्रोत्साहन गर्ने उद्देश्यका साथ भीमफेदी गोल्डकप आयोजना गर्ने तथा मकवानपुरकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको रुपमा रहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई समेत बजेट निर्धारण गरिने उहा“को भनाई रहेको छ ।

रंगशाला निर्माणका लागि प्रदेश सरकारको समेत लगानी रहनेगरी ८० लाख रुपैयाँ, भीमफेदी गोल्डकपका लागि १० लाख रुपैयाँ र मकवानपुर गोल्डकपका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिने कुरा भएपनि बजेट पास नभएसम्मका लागि यति नै रकम छुटिन्छ भनेर भन्न नसकिने उपाध्यक्ष रानाले बताउनुभयो ।