खैरहनी (चितवन)- पूर्वी चितवनको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी बिहान साढे ७ बजे नै नगरपालिकाको कार्यालय पुग्छन् । घरबाट बिहान पैदलै नगरपालिकाको कार्यालयमा पुगेर दैनिक कार्ययोजना बनाउनुका साथै कार्यालय परिसरको सरसफाईबारे चासो दिने गरेको नगरपालिकाका प्रमुख चौधरी बताउँछन् ।
नगरप्रमुख नै कार्यालयमा बिहानै पुग्ने भएपछि कर्मचारीहरु पनि बिहान साढे ९ बजे नै कार्यालय आइपुग्ने गरेका छन् । नगरप्रमुख चौधरीले निर्वाचित भएर आएदेखि जनताको सेवाका लागि जनप्रतिनिधि र कर्मचारी आपसमा सहकार्य गरेर काम गरिरहेको बताउँछन् । ‘हामी निर्वाचित सवै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यकै कारण प्रभावकारी सेवा प्रदान गर्न सफल भएका छौं’, नगरप्रमुख चौधरीले भने, ‘जनप्रतिनिधिबीच विवाद छैन । खैरहनी नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत तेस्रो व्यक्ति हुनुहुन्छ । कर्मचारी सरुवा भएर जानुपर्दा दुःखी हुनुपर्ने अवस्था छ ।’
४ बर्ष काम गरिसक्दा महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गर्दै नगरप्रमुख चौधरीले भने, ‘२०७४ सालमा निर्वाचित भएर आउँदा नगरपालिकाको बार्षिक आन्तरिक आय ९८ लाख रुपैयाँथियो पहिलो बर्ष ३ करोड, दोस्रो बर्ष ७ करोड, तेस्रो बर्ष ९ करोड २५ लाख र चौथो बर्ष १० करोड आन्तरिक आय गर्न सफल भएका छौं ।’ आगामी आर्थिक बर्षका लागि १४ करोड रुपैयाँआन्तरिक आयको अनुमान गरिएको नगरप्रमुख चौधरीले बताए ।
भूमिहिनको संख्या न्यून रहेको र उनीहरुले भोगचलन गर्दै आएको जमिनको स्वामित्व प्रदान गर्ने तयारी भइरहेको जानकारी गराउँदै केरा, तोरी, मह, धान, तरकारीबाली, माछामा आत्मनिर्भर रहेको उल्लेख गरेका छन् । संघीय सरकारले ७५ प्रतिशत अनुदानमा नगरपालिकाले २५ प्रतिशत अनुदान दिएर निशूल्क कृषि बीमाको व्यवस्था गरिएको नगरप्रमुख चौधरीको भनाइ छ । सामुदायिक विद्यालयको क्षमता विकासका कार्य गरिएकै कारण विद्यार्थीको आकर्षण बढेको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका पदाधिकारी तथा सञ्चारकर्मीसँगको अन्तरक्रियामा नगरप्रमुख चौधरीले नगरबासीको आधारभूत अधिकार र आर्थिक, सामाजिक विकासमा नगरपालिका जिम्मेवार भएर आवश्यक योजना निर्माण र कार्यान्वयन गर्दै आएको दावी गरे । नगरपालिकाले ऐन, कानुन निर्माण गर्ने र संस्थागत संरचना विकास गर्दै जनतालाई प्रभावकारी सेवा प्रदान गरेको नगरप्रमुख चौधरीले बताए । प्रदेश सरकार र संघीय सरकारसँगको साझेदारीमा नगरमा ठूला परियोजना समेत निर्माणाधिन अवस्थामा रहेको चौधरीको भनाइ छ ।
अन्तरक्रियामा इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले नागरिकको राजनीतिक अधिकारको पैरवी गर्दै आएको इन्सेकले लोकतन्त्र स्थापनासँगै नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पक्षमा पैरवी गर्दै आएको बताए । बागमती प्रदेशकै प्रथम स्थानमा रहन सफल खैरहनी नगरपालिकाका प्रमुखसँग सञ्चारकर्मी समेतको उपस्थितिमा अन्तरक्रिया गरेर इन्सेकले अन्य पालिकाहरुलाई पनि सकारात्मक काममा प्रेरित गर्ने प्रयास गरेको बताए ।