हेटौंडाः जनज्योति माध्यमिक विद्यालय र कमाने एकेडेमीको सहकार्यमा अंग्रेजी शिक्षणको बारेमा कार्यशाला गरिएको छ । विद्यालयहरुमा कसरी अंग्रेजी विषय पढाउने भन्ने विषयमा हालै ३ दिने कार्यशाला भएको हो ।
कार्यशालामा कमाने एकेडेमीका प्रिन्सिपल प्रतिभा डंगोलले सहजीकरण गर्नुभएको थियो । आगामी दिनमा एकेडेमीलाई शिक्षकहरुको तालिमको केन्द्रको रुपमा विकास गरिने डंगोलले बताउनुभयो । सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुसँगको सहकार्यमा नियमितरुपमा शिक्षक तालिम तथा कार्यशाला आयोजना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यशालामा कमाने एकेडेमीका ३ जना र जनज्योति माविका ९ जना शिक्षकहरुकोे सहभागिता रहेको थियो । विद्यालयको पुस्तकालयका अंग्रेजी भाषाका किताबको उपयोगिता, अंग्रेजी विषय पढाउने, बोेल्ने, लेख्ने तरिकाका साथै ग्रामर शिक्षणका सम्बन्धमा छलफल गरिएको थियो ।
अहिलेको समय र परिस्थितिअनुसार किताबमा भएका पाठहरु पूरा गर्न नसकिने भएकाले छोटो समयमा आधारभूत तहका सिकाई सहजीकरणका बारेमा कार्यशालामा छलफल गरिएको प्रिन्सिपल डंगोलले जानकारी दिनुभयो । कतिपय विद्यालयमा रहेको पुस्तकालय उपयोग नभइरहेको अवस्थामा पठन संस्कृतिको विकासका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिताका लागि कार्यशाला सहयोगी भएको उहाँले बताउनुभयो ।