हेटौंडाः बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरको सहकार्यमा हेटौंडा–११ थानाभर्याङमा प्रादेशिक कृषि थोक बजार निर्माण हुने भएको छ ।

शुक्रबार बिहान बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रादेशिक कृषि थोक बजारको शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले थोक बजार निर्माण सम्पन्न भएसँगै यसको व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी हेटौंडा उपमहानगरलाई हस्तान्तरण गर्ने बताउनुभयो । कृषी थोक बजारमा तरकारी मात्र नभएर कोल्ड स्टोर, प्याकेजिङ र लेबलिङका कामहरु, कृषि उत्पादनको थोक मुल्यमा सबै वस्तुको किनबेच हुने भन्दै हजारौले रोजगारी पाउने मुख्यमन्त्री पौडेलले बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अब उत्पादनलाई मात्र नभएर बजारीकरणलाई पनि बढाउन खोजेको बताउनुभयो । उहाँले हेटौंडाको थानाभर्याङमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण हुन लागेको बताउनुभयो । उहाँले ठेकेदार कम्पनिलाई समयमै काम सकाउन निर्देशन दिनुभएको छ ।

२८ करोड ३६ लाख ५५ हजना ९ सय ८३ रुपैयाँको (भ्याट सहित) लागतमा थोक बजार निर्माण गर्न एएन के माउन्टेन जेभीले निर्माणको ठेक्का पाएको छ । कृषि विकास निर्देशनालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशतको लागत साझेदारीमा थोक बजार निर्माण हुने भएको हो । आगामी २०८१ जेठ ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनि एएन के माउन्टेनले ठेक्का पाएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाव दोर्जे लामाले निर्माण कम्पनिलाई समय अगाबै निर्माण पुरा गरेर प्रदेश सरकारको सम्मान लिन आग्रह गर्नुभयो । उहाँले यसअघि पनि प्रादेशिक कृषि थोक बजार निर्माण गर्न लामो समय छलफल गरेको बताउनुभयो । उहाँले यहाँको बजारले बागमती प्रदेश मात्र नभएर प्रदेश नम्बर २, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायतका कृषि उपजहरु विक्रि वितरण सहजा हुने बताउनुभयो । कृषि थोक बजारको कुल क्षेत्रफल २ विगाह ४ धुर हुनेछ । अहिले सोही ठाउँमा सुकुम्बासीहरु पाल टांगेर बस्दै आएका छन् ।











