हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयलाई हेटौंडा उपमहानगरपालिकाले ल्यापटप सहयोग गरेको छ । कोरोना महामारीको जोखिमका बेला भर्चुअल माध्यमबाट पठनपाठन गर्न सहयोग पुग्ने उद्देश्यले ५ वटा ल्यापटप सहयोग गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार बालबोध माविका प्रधानाध्यापक रमेश रिजाललाई ल्यापटप हस्तान्तरण गर्नुभएको हो । संघीय सरकारबाट प्राप्त बजेट अनुदान ३ लाख ४० हजार रुपैयाँमा ल्यापटप खरिद गरिएको हो । बालबोध माविमा ३ कक्षादेखि १२ कक्षासम्म भर्चुअल माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक रिजालले बताउनुभयो ।
वैकल्पिक विधिबाट पठनपाठन गराउँदा इन्टरनेटको पहुँँच सबै ठाउँमा नभएकोले विद्यार्थीको उपस्थिति भने न्युन रहेको उहाँले जानकारी दिनुभयो । कक्षागत विद्यार्थीको उपस्थिति अनुसार कुनैमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्मका विद्यार्थीहरु सहभागी भएको उहाँले बताउनुभएको छ ।