हेटौंडाः मनहरी गाउँपालिकाले फरक क्षमता भएका ५ जनालाई कृत्रिम खुट्टा सहयोग गरेको छ । गाउँपालिकाले पूरै खुट्टा नभएका ३ जना र आधार खुट्टा नभएका २ जनाका लागि खुट्टा सहयोग गरेको हो ।
संघीय सरकारबाट प्राप्त बजेट अनुदानबाट गाउँपालिकाले करिब ५ लाख रुपैयाँमा कृत्रिम खुट्टा खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । प्रतिगोटा एक लाख २७ हजार रुपैयाँका तीनवटा सिङ्गो खुट्टा र प्रतिगोटा ५४ हजार रुपैयाँका दुईवटा आधा खुट्टा खरिद गरी ५ जनालाई दिइएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका फरक क्षमता भएका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न संघीय सरकारबाट १० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । उक्त रकममध्ये करिब ५ लाख रुपैयाँमा खरिद गरिएको कृत्रिम खुट्टा गाउँपालिकाका वडा नम्बर २, ६, ७, ८ र ९ का ५ जनालाई वितरण गरिएको छ । यसैगरी गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई ह्वील चेयर र दृष्टिविहीनहरुलाई लठ्ठीसमेत प्रदान गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।