प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई सम्मान गरिँदै ।

हेटौंडाः मकवानपुर बेरोजगार युवा संगठनले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई सम्मान गरेको छ । नवनियुक्त कार्यकारी उपाध्यक्ष चौलागाईलाई सम्मान गर्दै बेरोजगार युवा संगठनले युवालाई रोजगारीको अवसर सिर्जना गर्न प्रदेश युवा परिषद्ले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

मकवानपुर बेरोजगार युुवा संगठनका अध्यक्ष सुरेश बेरोजगारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल लोप्चनले युवालाई दक्ष बनाई स्वदेश तथा विदेशमा सम्मानजनक अवसर प्रदान गर्न प्रदेश युवा परिषद्ले आवश्यक कार्य गर्ने अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले स्थानीय तहसँग समन्वय गरेर प्रदेश युवा परिषद्ले काम गर्नुपर्ने सुुझाव दिनुभयो ।

सम्मान ग्रहणपछि बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाको दक्षता विकास र उनीहरुलाई सम्मानजनक रोजगारीको अवसरका लागि प्रदेश युवा परिषद्ले आवश्यक रणनीति बनाई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेशभर समानुपातिक ढंगबाट युवाका लागि कार्य गर्ने गरी योजना बनाइने र युवालाई सक्षम बनाउन परिषद्लाई बेराजगार युवा संगठनले पनि आवश्यक सहयोग र सल्लाह प्रदान गर्नुपर्ने कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । कार्यक्रममा वडा सदस्य लक्ष्मी नेपालीको पनि उपस्थिति रहेको थियो ।