हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाल ।

हेटौंडाः हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाललाई विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भएको छ । सडक बालबालिकाको आश्रयस्थलको रुपमा रहेको मामाघर नेपाललाई विभिन्न व्यक्ति तथा संस्थाले स्थापना दिवस, बैवाहिक वर्षगाँठ तथा जन्मदिनको अवसरमा सहयोग गरेका हुन् ।

नेपाल घरबहाल सरोकार उपभोक्ता संघ मकवानपुरको आफ्नो ९ औं स्थाापना दिवसका अवसरमा मामाघर नेपाललाई खाद्यान्न सहयोग गरिएको घरबहाल सरोकार उपभोक्ता संघका उपाध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।

चामल, आलु, चिउरा, गहुँको मिठो र दाल सहयोग गरिएको हो । नेपाल घरबहाल सरोकार उपभोक्ता संघका अध्यक्ष पवनकुमार भट्टको अध्यक्षतामा खाद्यान्न हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा महेन्द्र राउत, समिरलाल डंगोललगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, हेटौंडाका बर्तौला दम्पत्तिले आफ्नो १९ औं बैवाहिक वर्षगाँठको अवसरमा मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । दिनेश बर्तौला तथा शोभा बर्तौलाले आफ्नो विवाह भएको वर्षगाँठको अवसरमा मामाघर नेपाललाई खाद्यान्न तथा तरकारी सहयोग गर्नुभएको हो ।

बर्तौला दम्पत्तिले १५ लिटर दूध, ४ किलो घिरौंला, ४ किलो गोलभेँडा, ४ किलोग्राम सुजी, २ किलो दाल, १ कार्टुन चाउचाउ, ६ प्याकेट नुन, साबुन, सर्फ तथा डटपेन सहयोेग गर्नुभएको छ ।

यस्तै, हेटौंडा–४ का प्रयास तामाङको जन्मदिनको अवसरमा मामाघर नेपाललाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । हाल युकेमा रहनुभएका प्रेम तामाङ र अस्मिता तामाङका छोरा प्रयासको पाँचौ जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरिएको हो ।

तामाङले मामाघर नेपालका लागि एक बोरा चामाल, एक कर्टुन तेल, र एक पटककोे खाजा चाउचाउ, बिस्कुट र फ्रुटी सहयोग गर्नुभएको हो । तामाङका आफन्तहरु असिम स्याङ्तान, रुविना स्याङ्तान, निरज लामा, सुदिप थापालगायत उपस्थित भई सहयोग हस्तान्तरण गरिएको हो ।

विभिन्न व्यक्ति तथा संस्थाहरुबाट गरिएको सहयोग ग्रहण गर्दै मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सहयोगीहरुलाई धन्यवाद दिनुभएको छ । मामाघरलाई सहयोग गरी सडक बालबालिकामुक्त सभ्य समाज निर्माण अभियानमा जोडिनुभएको भन्दै पराजुलीले सहयोगी व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।