बोल्न थालेपछि के बोल्ने भन्ने थाहा नै नपाउने नेताहरुको जमात ठूलो छ । अध्ययन र तयारी बिना नै बोल्न अग्रसर हुन्छन् । कुनै पनि विषयमा जान्दिन भन्न लाज लाग्दछ, उनीहरुलाई । कुनै विषयमा बोल्नुअघि अध्ययन गर्ने, परामर्श लिने र तथ्यका आधारमा बोल्ने बानी धेरै कम छ नेताहरुमा । जसले गर्दा पटक–पटक विवादमा तानिने गरेका छन् । बोल्दा होस् नपुर्याउने तर आलोचना बढ्दै गएपछि सञ्चार माध्यमले बंग्याइदिएको दावी गर्ने नेताहरुको प्रवृत्ति नै हो । नेताले जे बोल्दा पनि हुन्छ भन्ने घमण्ड देखिन्छ । सामान्य पढे–लेखेका नेताहरु पनि सत्तामा पुगेपछि सबै विषयको ज्ञाता बन्ने ढोँगी प्रवृत्तिले आलोचित हुँदै आएका छन् । तर पनि उनीहरुलाई कुनै लाज छैन ।
काम गर्दा होस् वा बोल्दा कमजोरी हुनु स्वभाविक हो । त्यसलाई सहर्ष स्वीकार गर्ने र सच्याउन तत्पर हुनुपर्दछ । तर नेपाली नेताहरुले गल्ती नै गरेको भए पनि सही प्रमाणित गर्ने अर्को गल्ती गर्दै आएका छन् । आफूले गल्ती बोलेको विषयमा भुलसुधार गर्न नसक्नु ठूलो कमजोरी हो । जे बोल्छु सही बोल्छु भन्ने अहम्ले नेताहरुको बोलीप्रति नागरिकले पनि विश्वास गर्न छाडेका छन् । तथ्य र तर्कबिना नै बोल्ने र त्यसको परिणाम के आउँछ भन्ने सामान्य चिन्तन समेत देखिँदैन । यस्तै बोलीकै कारण यतिबेला कांग्रेसका एकजना सांसद अप्ठेरोमा परेका छन् । नागरिकको आक्रोश व्यक्त गरेका भए पनि शब्द छनौटमा भएको कमजोरीले अप्रिय शब्द प्रयोग गरेका छन् ।
सरकार र प्रधानमन्त्रीका क्रियाकलापप्रति नागरिकमा आक्रोश बढ्दै गएको यथार्थ हो । पटक–पटक संसद विघटन गरेर भए पनि सत्तामै बस्नुपर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको छ । नागरिक कोरोना महामारीबाट आक्रान्त छन्, तर सरकारका निर्णय हेर्दा मुलुक अत्यन्त सामान्य परिस्थितिबाट अघि बढेको जस्तो छ । पहिलो पटक संसद विघटन गरेको निर्णयलाई सर्वोच्च अदालतबाट असंवैधानिक भएको फैसला गर्दासमेत आफ्नो निर्णय सही थियो भन्दै प्रमाणित गर्ने प्रयासमा फेरि अर्को पटक संसद विघटन गराएपछि प्रधानमन्त्रीप्रति आक्रोश बढ्दै गएको छ । त्यसमाथि विपक्षीहरु त आक्रामकरुपमा प्रस्तुत हुने नै भए । यही अवस्थालाई प्रकट गर्न भाषागत त्रुटी गर्दा कांगे्रसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य विवादमा परेका हुन् ।
वैद्यको भनाई सामान्य हुँदै होइन । उनको पार्टी नेपाली कांग्रेसले आत्मआलोचना गर्न र बोली सच्याउन निर्देशन पनि दियो । पार्टीको संसदीय दलले माफी माग्न भनेपछि उनले जुन ठाउँबाट बोलेका थिए त्यही रोष्ट्रमबाटै भोलिपल्टै आफ्नो भनाईप्रति क्षमायाचना गरेका छन् । जति उपद्रो गर्दा पनि सही प्रमाणित गराउने नेताहरुको प्रवृत्तिमा वैद्यले गरेको आत्मालोचना उदाहरण पनि हो । शासकहरुले कमजोरीलाई स्वीकार गर्दै सच्याउने हो भने नागरिकले आजको दुःख पाउने नै थिएनन् । गल्तीलाई स्वीकार गर्ने र सच्याउने हिम्मत र आँट गर्नु पर्दछ । त्यो व्यवहार वैद्यले देखाएका छन् । अरु नेता भएको भए सामान्य वक्तव्य प्रकाशित गरेर झरा टार्ने काम गर्ने थिए । तर वैद्यले रोष्ट्रमबाटै क्षमा मागेका छन् । यस घटनाले बोलीमा लगाम लगाउनुपर्ने पाठ सिकाएको हुनुपर्दछ ।