हेटौंडाः विद्यालयजीवनका साथीको स्मृतिमा एक समूहले निशूल्क खाना खुवाएका छन् । हेटौंडामा रोटरी क्लब अफ मकवानपुरको अग्रसरतामा विपन्न परिवारलाई निशूल्क खाना खुवाउने कार्यक्रममा शुक्रबार हेटौंडा–४, पारिजातपथकी साथी अनुराधा नकर्मीको स्मृतिमा निशूल्क खाना खुवाएका हुन् ।

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट २०५६ सालमा एसएलसी परीक्षामा सहभागी विद्यार्थी समूहका सदस्य अनुराधाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको थियो । साथीको निधनप्रति दुख व्यक्त गर्दै उनै साथीको स्मृतिमा खाना खुवाइएको संगीत श्रेष्ठले जानकारी दिनुभएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाका कारण विपन्न परिवार, व्यक्ति भोकै बस्न नपरो भनी पञ्चसिद्धि फाउण्डेशनको साथमा रोटरी क्लब मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरले जेठ १२ गतेदेखि निशूल्क खाना खुवाउन सुरु गरेको हो ।

निशूल्क खाना खुवाउने कार्यको १७ औं दिन शुक्रबार हेटौंडा–४, हुप्रचौरमा १२७ जना, हेटौंडा अस्पतालमा १०१ जना र असहायहरुका लागि घरमुखी सेवा २८ जना गरी कुल २५६ जनालाई र हेटौंडा अस्पतालमा उपचारारत ९० जनालाई बिहानीको नास्ता खुवाइएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।

निशूल्क खाना खुवाउने कार्यकै लागि हेटौंडा–१० निवासी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षक ध्रुब श्रेष्ठले १० हजार रुपैयाँ, हेटौंडा–८ स्थित सर्वोत्तम संचीती बचत तथा ऋण सरकारी संस्था लिमिटेडबाट ५ लिटर तोरीको तेल, हेटौंडा–८ स्थित कार्की पोल्ट्री फार्मका प्रोप्राइटर राजु कार्की बाट १ काटुन अण्डा, युवा व्यवसायी धर्मेंन्द्र खेम्काबाट मौसमी फलफुल सहयोग प्राप्त भएको सांगामीले जानकारी दिनुभएको छ ।