एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को आयोजनामा युरोपका राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ ।
रोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता गरेपछि युरोकप औपचारिक रुपमा सुरु हुनेछ । रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । ११ जुलाईदेखि ११ जुनसम्म ११ शहर (लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्ग) मा आयोजना हुने युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । फाइनल वेम्वली स्टेडियम लन्डनमा हुनेछ ।
उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २५ खेलमा अपराजित छ । यसक्रममा इटालीले २० जित र ५ बराबरीको नतिजा निकालेको छ । इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ ।