हेटौंडाः हेटौंडाका तीन वटा जेसीजको संयुक्त आयोजनामा हेटौंडा अस्पतालमा दैनिक रुपमा बेलुकाको खाना खुवाउने अभियान सुरु गरिएको छ । जेसीआई हेटौंडा, जेसीआई हेटौंडा लेडी र जेसीआई बस्तीपुरले संयुक्त रुपमा अस्पतालमा बेलुकाको खाना खुवाउने व्यवस्था गरेको हो ।
अस्पतालमा रहेका बिरामी, बिरामीका कुरुवा तथा स्वास्थ्यकर्मी गरी दैनिक १ सय जनालाई बेलुकाको खाना खुवाउने अभियान सुरु गरिएको जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेतले जानकारी दिनुभयो । २१ गतेबाट सुरु गरिएको अभियानमा आइतबारसम्म ३ सय जनालाई खाना खुवाइएको पनि उहाँले बताउनुभयो । खाना खुवाउन दैनिक १० हजार खर्च हुने र सोका लागि केही सहयोग प्राप्त भएका र अन्य सम्पुर्ण खर्च तीन वटै संस्थाले व्यहोरिरहेको उहाँको भनाई छ ।
मकवानपुरमा निषेधाज्ञा जारी रहुन्जेलसम्म चल्ने यो अभियानको सुरुवाती ३ दिनमा ३ किसिमको खाना खुवाइएको बताइएको छ । आइतबारसम्म चिकेन बिरयानी, अण्डा बिरयानी तथा भेज बिरयानी पकाएर बितरण गरिएको पनि बस्नेतले जानकारी दिनुभयो । हेटौंडा अस्पतालका विरामी र कुरुवाका लागि रोटरी क्लब अफ मकवानपुरले बिहानको खाजा र खानाको व्यवस्था गर्दै आएको छ ।