एन्फाको राष्ट्रिय छनोट कार्यक्रममा सहभागी हुँदै मकवानपुरका भुवन (पहिलो पंक्तिको तेस्रो स्थानमा)सहित अन्य खेलाडी ।

हेटौंडाः अखिल नेपाल फुटबल संघले युथ एकेडेमीको लागि गरेको अन्डर–१३ को अन्तिम छनोटमा मकवानपुरका युवा खेलाडी भुवन कामी छनोट हुन सफल भएका छन् । एन्फाले शुक्रबार एक सुचना जारी गर्दै १३ वर्ष भन्दा कम उमेर समुहका खेलाडीहरुको अन्तिम छनोटको नतिजा प्रकाशित गर्दा भुवन पनि छनोट हुन सफल भएका हुन् ।

एन्फाले देशभरबाट छनोट युवा खेलाडी छनोट गरेर शुक्रबार अन्तिम छनोटको नतिजा प्रकाशित गरेको हो । एन्फाले भुवन सहित ४२ जना खेलाडीलाई छनोट गरेको छ । जसमा भुवनसहित २१ जना एन्फाको छात्रवृतिमा समेत पर्न सफल भएका छन् । बाँकी खेलाडीले भने आफ्नो पढाई तथा अन्य आवश्यकताो लागि शुल्क बुझाउनुपर्ने बताईएको छ ।

यस्तै बैकल्पिक खेलाडीका रुपमा मकवानपुरका सिमोन मगरसहित ९ खेलाडीलाई छनोट गरिएको एन्फाले जानकारी दिएको छ । छनोट भएका खेलाडीहरुलाई एन्फा एकेडेमी तथा बिभागिय क्लबहरुमा आबद्ध गराईने पनि एन्फाले जनाएको छ । छनोट गरिएका खेलाडीहरुमध्ये सात/सात जनाका दरले विभागीय टोली नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बलले खडा गरेको एकेडेमीमा भर्ना हुनेछन् ।

छनोट भएका खेलाडीहरुलाई बिभागिय क्लबमा आबद्ध गराउनका लागि आइतबार गोलाप्रथा गरिने भएको छ । जसबाट कुन खेलाडी कुन बिभागिय क्लबमा समाबेश हुने भन्ने कुरा तय गरिनेछ ।

एन्फाले आयोजना गरेको खेलाडी छनोट कार्यक्रम जिल्लास्तरबाट छनोट हुँदै भुवन र सिमोन सहितसहित बागमती प्रदेशबाट ३३ जना, प्रदेश १ बाट २८ जना, प्रदेश २ बाट २४ जना, गण्डकी प्रदेशबाट ३३ जना, लुम्बिनी प्रदेशबाट ३० जना, कर्णाली प्रदेशबाट ८ जना र सुदुरपश्चिम प्रदेशबाट १२ जना खेलाडीहरु राष्ट्रिय छनोटका लागि सहभागी भएका थिए ।

सहभागी खेलाडीहरुमा उनीहरुको खेल्ने क्षमता र अनुशासनका आधारमा छनोट गरिएको एन्फाले जानकारी दिएको छ ।