हेटौंडाः मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञामा सार्वजनिक यातायात चलेका छैनन् । केही निजी यातायातलाई नै सार्वजनिक यातायात बनाएर चलाइको छ ।

निषेधाज्ञामा जिल्लाको ग्रामिण क्षेत्रबाट सदरमुकाम आउने विद्यार्थी, विरामीहरु यातायातको चर्का भाडा तिर्न बाध्य छन् । हेटौंडादेखि बागमती गाउँपालिकासम्म पुग्न बसमा निषेधाज्ञा अघि २ सय रुपैयाँ भाडा थियो । आज बिहान कक्षा ११ मा अध्ययनरत १७ वर्षका रविन्द्र वाइबा बागमतीबाट ५ हजार रुपैयाँ अटो भाडा तिरेर हेटौंडा आइपुगे । भाडा नै ५ हजार भएको उनले बताए ।

यही जेठ २३ गते अनलाइन परीक्षाको लागि उनी गाउँबाट सदरमुकाम आएका हुन् । गाउँमा इन्टरनेटको पहुँच नहुँदा सदरमुकाम आउनुपरेको उनको भनाई थियो । उनीसँग अनलाइन परीक्षा दिने मिल्ने मोबाइल पनि छैन । भएको मोबाइलमा जेनतेन फेसबुक चल्छ अन्य एप्स चलायो भने ह्याङग् हुन्छ । महंगो भाडा तिरेर कोठासम्म आइपुगे पनि उनलाई अब कसरी परीक्षा दिने भन्ने चिन्ता छ ।

उनीजस्तै बागमती गाउँपालिकाबाट हेटौंडा आउने प्रत्येक विरामी तथा अन्य नागरिकहरु अटोलाई ५ हजार रुपैयाँ भाडा तिर्ने गर्छन । निषेधाज्ञा अघि २५ सय रुपैयाँमा आउँजाउँ गर्ने अटोले अहिले ४ गुणा बढी भाडा लिने गरेको छ । ग्रामिण क्षेत्रमा चल्ने सार्वजनिक यातायात नचल्दा उनीहरु महंगो भाडा तिरेर आवतजावत गर्नुपर्ने अवस्था छ ।