हेटौंडाः हेटौंडामा स्वाब संकलन दिनप्रतिदिन घट्दै गएको छ । बुधबार ७१ जनाको स्वाब संकलन गरिएको थियो भने बिहीबार (आज) ५८ जनाको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँगाउँमा एन्टिजेन परीक्षण हुँदा पीसीआर गर्ने नागरिकले नरुचाएका हुन् । तर वास्तविकता यो भन्दै फरक छ ।
हेटौंडा उपमहागनरपालिका बाहेकका सबै स्थानीय तहमा ऐन्टिजेन परीक्षण भएर पीसीआर परीक्षण गराउनेको संख्यामा कमी आउनु स्वभाविक भए पनि हेटौंडामा त्यस्तो देखिदैन । परीक्षणको दायरा बढाउन हेटौंडामा सकेको छैन । हेटौंडामा समुदायस्तरमा ऐन्टिजेन परीक्षण पनी हुन सकेको छैन । जारी निषेधाज्ञाका कारण अधिकांश घरमै थुनिएर बसेका छन् । उनीहरु परीक्षण गराउन नचाहेको पनि देखिन्छ ।
कोरोनाको दोस्रो लहरमा हेटौंडा अस्पतालले आफै स्वाब नमूना संकलन गर्दै आएको थियो । पछि हेटौडा अस्पतालको सहयोगमा गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट स्वाब संकलन हुन थाल्यो । यसरी अहिले दिनदिनै परीक्षण गर्नेको संख्या न्यून हुँदै गएको छ । परीक्षण कम भएपछि संक्रमण दर कमी आउनु स्वाभाविक भएको जनस्वास्थ निरीक्षक भोला चौलागाईले बताउनुभयो ।