हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरले खाद्य सामग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।
राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसका ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई सहयोग गरिएको छ । हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा पुगेको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुमात्रै कोरोना रोगसँगै जन्मिएको भोकसँग लड्न जनताको घरदैलोमा पुगेको बताउनुभयो । यस्तो विषम परिस्थितिमा सरकार छ भन्ने अनुभूति जनताले गर्ने अवसरनै नपाएको दावी गर्दै उनले कम्युनिष्ट सरकार आफु र आफ्ना कार्यकर्ता पोष्नमात्रै तल्लिन रहेको आरोप लगाउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेता बानियाँले अहिलेको केपी ओली सरकार जनताप्रति पूर्ण उदासिन रहेको बताउँदै सरकारसँग पैसा भएपनि सहयोगको भावना र योजना नभएको आरोेप लगाउनुभयो ।
नेता बानियाँले आफुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पटकपटक जनता रोगले भन्दा भोकले मर्ने भए सहयोग गरौं भन्दा कुनै तत्परता नदेखाएको दावी गर्नुभयो । प्रदेश सरकार जनताप्रति अनुत्तरदायी भएपछि आफु र आफ्ना सहयोगी मार्फत सहयोग सामाग्री उपलब्ध गराएको उहाँको भनाई छ । नेता बानियाँले निषेधाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्ता गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको प्रष्ट पार्नुभएको छ ।
विकट वस्तिका चेपाङ र तामाङ समूदायका विपन्न र गरिव जनताका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका छोरा जयविर देउवाबाट एक लाख रुपैयाँ सहयोग उपलब्ध भएको नेता बानियाँले जानकारी दिनुभयो । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुको समेत सहयोग रहेको थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्यहरु राजिव सुवेदी, भिमबहादुर भोम्जन, सुर्यबहादुर रुम्बा, क्षेत्रिय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस कोभिड १९ अनुमगन समिति मकवानपुरका संयोगक उत्सव इटेनी, राक्सिराङ गाउँपालिकका उपाध्यक्ष निर्मला हिम्डुङ, तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीलगायतको उपस्थिति रहेको थियो ।