हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत प्याराफिटको शिलान्यास गर्दै । फाइल तस्बिर

हेटौंडाः हेटौंडाको क्याम्पामा निर्मार्णाधीन मिनि रंगशालामा प्याराफिट निर्माण गर्नका लागि धमाधम सहयोग प्राप्त भइरहेको छ । पिप्ले युवा क्लबले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण सुरु गरेको प्याराफिट निर्माणका लागि जनस्तरबाट समेत सहयोग प्राप्त हुँदै आएको छ ।

कोरोना भाइरसको महामारीका बावजुद पनि रंगशाला निर्माण कार्य जारी छ । मकवानपुरका विभिन्न क्षेत्रका सहयोगी हातहरुले आर्थिक तथा जिन्सी सहयोग प्रदान गरिरहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेले बताउनुभयो । उहाँका अनुसार रंगशालामा प्याराफिट निर्माणका लागि दाताहरु आफै रंगशालामा आएर सहयोग प्रदान गरिरहेका छन् । दाताहरुले प्रदान गरेकोे सहयोगले काम गर्न अझ हौसला मिलेको उहाँको भनाई छ ।

रंगशाला निर्माणका लागि पछिल्लो १ हप्तामा मात्र ३५ हजार १ सय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सहयोग स्वरुप किरणबाबु न्यौपानेले १० हजार १ सय ५०, सिताराम लामिछानेले १० हजार १० रुपैयाँ, अनिल थापाले १० हजार रुपैयाँ र नितेश ठाकुरले ५ हजार रुपैयाँ प्रदान गर्नुभएको घिमिरेले जानकारी दिनुभयो । यस्तै जिन्सी सहयोगका रुपमा अमित मानन्धरले २५ बोरा र सन्तोष सापकोटाले १५ बोरा सिमेन्ट सहयोग गर्नुभएको छ ।

यस्तै राम बहादुर कार्कीले २ ट्याक्टर बालुवा र १ ट्याक्टर गिटी सहयोग प्रदान गर्नुभएको पनि अध्यक्ष घिमिरेले बताउनुभयो । यस अघि पनि रंगशालामा प्याराफिट निर्माणका लागि १ लाख ५५ हजार १ सय २० रुपैयाँ नगद तथा ६ सय ८६ बोरा सिमेन्टका साथै गिटी, बालुवा र ढुङ्गा सहयोग प्राप्त भएको थियो ।
दुई हप्ता अगाडी मात्र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्याराफिटको शिलान्यास गर्नुभएको थियो । हाल प्याराफिटको हात्तिपाइले अर्थात जग हाल्ने काम सकिएर पिल्लर उठाउने कार्य भइरहेको छ । १ महिनामा पहिलो चरणको काम सक्ने उद्देश्यका साथ काम भइरहेको क्लबले जनाएको छ ।

१० हजार दर्शक क्षमताको प्याराफिट बनाउने योजनाका साथ काम थालेको पिप्ले युवा क्लबले उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा प्रदान गरेको बजेटमा ३ हजार दर्शक क्षमताको प्याराफिट निर्माणगरि आगामी आर्थिक वर्षमा बाँकी काम गर्ने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ४५ लाख रुपैयाँ बजेटमा रंगशालाको प्याराफिट निर्माणको काम सुरु भएको हो भने ५ नम्बर वडा कार्यालयको ११ लाख रुपैयाँ बजेटमा रनिङ ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । यस्तै मकवानपुर जिल्ला फुटबल संघको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा फुटबल मैदान व्यवस्थापनको कामहरु भएको क्लबका अध्यक्ष घिमिरले जानकारी दिनुभयो ।