हेटौंडा अस्पताललाई पिपिई सेट हस्तान्तरण गरिँदै ।

हेटौंडाः खाडी मुलुक युएईमा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईले हेटौंडा अस्पताललाई पिपिई सहयोग गरेको छ । नेपाल तरूण दल हेटौंडा उपमहानगर समितिको संयोजकत्वमा बुधबार बिहान ३५ सेट पिपिई हस्तान्तरण गरिएको हो ।

पुनः प्रयोग गर्न मिल्ने पिपिई खरिद गरी हस्तान्तरण गर्न कलाकार समाजले ४० हजार रुपैयाँ उपलब्ध गराएको नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिका सभापति सुनिल गिरिले जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका पूर्वमहासचिव हेटौंडा–६ का एलिस राज सञ्जेलका अनुसार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष राम तामाङको अगुवाईमा सहयोग रकम संकलन गरी पठाइएको हो । आगामी दिनमा पनि सहयोगका लागि प्रयास भइरहेको सञ्जेलको भनाइ छ ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली र नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिका सभापति सुनिल गिरिले हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई पिपिई सेट हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेपाली कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक उत्सव इटेनीको पनि उपस्थिति रहेको थियो ।