हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरका उद्योग क्षेत्रको अनुगमन गर्ने भएको छ । कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर उद्योग सञ्चालन गर्न संघीय सरकारको निर्णयअनुसार स्थानीय प्रशासनले पनि स्वीकृति दिएको छ ।

उद्योगहरुमा स्वास्थ्य सतर्कता अपनाए, नअपनाएको विषयमा अनुगमन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले बताउनुभएको छ । सोमबार पत्रकारसँगको छलफलमा प्रजिअ पाण्डेले हालसम्म उद्योग क्षेत्रको अनुगमन नगरिएको स्वीकार्नुहुँदै अब अनुगमन गरिने बताउनुभएको हो । पत्रकारसँगको छलफलमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरको पनि उपस्थिति रहेको थियो ।

हेटौंडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा कार्यरत एकजना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको र कर्मचारी तथा कामदारमा व्यापक संक्रमण भए पनि सतर्कता अपनाउने र कोरोना परीक्षण गर्ने विषयमा व्यवस्थापन पक्षले ध्यान नदिएको भन्दै कर्मचारीहरुले गुनासो गर्दै आएका छन् ।