हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले आइतबार बिहानको एकछाक खाना १९५ जनालाई खुवाएको छ । निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्न बाध्य व्यक्ति तथा विपन्न परिवार लक्षित गरी रोटरी क्लब अफ मकवानपुरले जेठ १२ गतेदेखि बिहान एक छाक निशूल्क खाना खुवाउन सुरु गरेको हो ।
आइतबार हुप्रचौरमा ९२ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि ८० र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट २३ जना गरी कुल १९५ जनालाई सेवा दिन सफल भएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ । यसैगरी हेटौंडा अस्पतालमा उपचाररत ९२ जना बिरामीहरुलाई बिहानको नास्ता (अण्डा र मुँगको दाल) प्रदान गरिएको अध्यक्ष सांगामीले बताउनुभएको छ ।
रोटरी क्लब अफ मकवानपुरका निर्देशक शुक्र राज जोशीको संयोजकत्वमा जारी निशूल्क खाना खुवाउने अभियानमा दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सहयोग समेत गरिरहेका छन् । यसैक्रममा आइतबार हेटौंडा–१०, टिसिएनरोडस्थित होराइजन अटो प्रालिका सञ्चालक दाजुभाई राजु रत्न बज्राचार्य र लालकाजी रत्न बज्राचार्यले एकछाक खाना सहयोग गर्नुभएको छ । आइतबारकै लागि हेटौंडा–७, नागस्वतीस्थित बीएस खत्री पोल्ट्री फर्मका प्रोप्राइटर वीरेन्द्र खत्रीले ब्रोइलर कुखुराको २० केजी मासु र ७ क्रेट अण्डा उपलब्ध गराउनुभएको छ ।
रोटरी क्लब अफ मकवानपुरले स्थानीय प्रशासनको निषेधाज्ञा अवधिभर निशूल्क खाना खुवाउने कार्यक्रम जारी राख्ने जनाएको छ । रोटरी क्लब अफ मकवानपुरले आइतबार हेटौंडा–६, गौरिटारस्थित आइसोेलेसन वार्डमा २० कार्टुन पानी पनि सहयोग गरेको छ ।