हेटौंडाः सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा मकवानपुरका केही विकास निमार्णका आयोजना प्राथमिकतामा परेको छ । संघीय सरकारलको बजेटमा पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने योजना रहेको छ ।
यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोड्ने चित्लाङ–काठमाडौँ सुरुङमार्गको योजनासमेत बजेटमा समावेश भएको छ । सरकारले मकवानपुरको हेटौँडामा रहेको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । यसैगरी काठमाडौँको बालाजुमा रहेको विभिन्न उद्योग प्रतिष्ठान स्थानान्तरण गरी मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने उल्लेख गरिएको छ ।
मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोडने चित्लाङ–काठमाडौँ सुरुङमार्गको निर्माण शुरुआत आगामी आर्थिक वर्षबाट हुने भएको छ । आव २०७८/७९ को प्रस्तुत बजेट अनुसार यो आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरिएको हो । मदन भण्डारी राजमार्गअन्तर्गत चतरा–हेटौँडा सडकखण्डको बाँकी काम आगामी वर्ष सम्पन्न हुने भएको छ । यस सडकका लागि सरकारले आवश्यक बजेट छुट्याएको छ ।
प्रस्तुत बजेटअनुसार मदन भण्डारी विश्वविद्यालयअन्तर्गत मकवानपुरको चित्लाङमा निर्माणाधीन इञ्जिनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । यसैगरी बजेटमा हेटौँडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीमा निर्माणाधीन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।