हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको पल्पसा सभागृह परिसरमा आइसोलेसन सेन्टर सञ्चालनका लागि स्थलगत अवलोकन गरिएको छ । करिब एक सातादेखि पल्पसामा आइसोलेसन सञ्चालनका लागि अग्रसर देखिएको संघले आइसोलेसन सञ्चालनको पूर्वतयारी गरिरहेको छ ।
संघको नेतृत्वमा स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरसमेतको समन्वयमा हेटौंडाका निजी अस्पतालहरुको सहयोगमा पल्पसा परिसरमा आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले जानकारी दिनुभयो । आइतबारसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आइसोेलेसन सञ्चालनको अनुमति प्राप्त हुने वातावरण बनेको कटुवालले जानकारी दिनुभयो ।
आइसोलेसनका लागि मकवानपुर जिल्लाका निजी अस्पताल सञ्चालक संघबाट बेडको व्यवस्था र अन्य सहयोगसमेत हुने अध्यक्ष कटुवालले जानकारी दिनुभयो । शुक्रबार भएको छलफलमा निजी अस्पताल सञ्चालक संघका अध्यक्ष विष्णुगोपाल महर्जन, नारायण श्रेष्ठ, डाक्टर बसिम राई, सञ्चो हस्पिटलका अध्यक्ष तथा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानिया“, हेटौंडा मोडल अस्पतालका प्रतिनिधि, मउवासंघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठ, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको सहभागिता रहेको थियो । यस्तै, मकवानपुर बचत तथा ऋण सहकारी संस्थाबाट आइसोलेसनका लागि जेनेरेटर उपलब्ध गराइने भएको छ ।
शुक्रबार हेल्प डेस्क टोलीले पल्पसामा आइसोलेसन सञ्चालन गर्दा आवश्यक पर्ने पूर्वाधारहरुबारे छलफल गरेको छ । स्थलगतरुपमा पल्पसामा टोली खटिई आवश्यक पूर्वाधारहरु शिघ्र व्यवस्था गर्न छलफल भएको हो । हेल्प डेस्कका संयोजक कटुवाल, सचिवालय संयोजक कृष्णकुमार गुप्ता, सदस्यहरु सरोज खनाल, बद्री चौलागाईं, रामकुमार एलन, मउवासंघका कानुनी सल्लाहकार ईश्वरराज ढकाल, सिनियर अहेब प्रविन पुडासैनी, अनमी दिव्या बस्नेतलगायतको टोलीले स्थलगत अवलोकन गरेको हो ।
हेल्प डेस्कका सदस्य कृष्ण प्रणामी समाजले व्यवस्थापन गरिरहेको खाना वितरण कार्यक्रमको शुक्रबार हेल्प डेस्कको टोलीले स्थलगत अवलोकन गरेको छ । उक्त अवसरमा पल्पसामा आइसोलेसन सञ्चालन गर्दा खाना व्यवस्थापनको सम्बन्धमा छलफल गरिएको थियो ।
निरत्नर वर्षातको कारण हेल्प डेस्कले गर्दै आएको घरदैलो कार्यक्रम प्रभावित भएपनि शुक्रबार ७० जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत् उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । सबै संक्रमितहरु घरमै रहेको टेलिफोन सम्पर्कमा जानकारी प्राप्त भएको हेल्प डेस्कले जानकारी दिएको छ ।