हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०ः१५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । मंगलबार नेपालबाट प्रस्थान गरेको टोलीले बुधबार इराक पुगेर होटेलमै सामान्य रिकभरी गरेको थियो । विहीबार र शुक्रबार टोलीले पूर्ण प्रशिक्षण गरेको छ । आज शनिबार खेल हुने स्थलमा तापक्रम ४७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४–३–३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिने पक्का जस्तै देखिन्छ । विंगब्याकमा दिनेश राजवंशी र सुमन अर्याल खेल्ने प्रबल सम्भावना छ । विकास खवास र गौतम श्रेष्ठ पनि विकल्पमा छन् ।

मिडफिल्डमा भने यसपटक नयाँ स्वरूप देखिने आँकलन गरिएको छ । रक्षात्मक भूमिकामा पुजन उपरकोटी र सुरज जिउ ठकुरीले खेल्ने सम्भावना छ । अनुभवी विशाल राईसँगै एरिक विष्ट, सन्तोष तामाङ र कमल थापा पनि सेन्टर मिडफिल्ड भूमिकाका लागि प्रतिस्पर्धामा छन् । आयुष घलानको रुपमा प्राविधिक पाटो सुदृढ पार्ने प्रशिक्षकको रणनीति पनि हुन सक्छ ।

आक्रमणमा विंगरका रुपमा अन्जन विष्ट वा मनिष डाँगी राइट विंगमा देखिने सम्भावना छ । प्रशिक्षक अलमुताइरीले दुवैलाई खेलाउन पनि सक्छन् । फरवार्डका रुपमा नवयुग श्रेष्ठ र आशिष लामाको दावेदारी रहनेछ । अभिषेक रिजाल पनि आफूलाई सिद्ध पार्न अवसरको पर्खाइमा छन् । सुमन लामा र सुनिल बल वैकल्पिकका रुपमा खेलमा आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् ।

सन् १९८६ को विश्व कप खेलेको इराक यसै पनि नेपालमाथि बलियो छ । एसिया कप जितिसकेको इराक नेपाल भन्दा फिफा वरियतामा १ सय ३ स्थान माथि छ । नेपालको वरियता १ सय ७१ औं स्थानमा छ । विश्व कप छनोटको तयारीमा रहेको इराक आफ्नो समूहको शीर्षस्थानमा छ भने नेपाल चौथो स्थानमा छ । त्यसैले धेरै आशा गर्ने ठाँउ छैन ।

त्यो राम्ररी बुझेका अलमुताइरीले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘हाम्रो लागि नतिजा होइन प्रदर्शन महत्वपूर्ण हो ।’ उनले विश्वास गरेका खेलाडीले कस्तो प्रदर्शन गर्छन् उनका लागि त्यसमा बढी चासो रहनेछ ।

यसैपनि इराकविरुद्ध ३ खेलमा नेपालले हार बेहोरेको थियो । भारतमा १९८२ मा भएको एसियाली खेलकुदमा यी दुई टोलीबीच पहिलो भेट भएको थियो । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यसमा नेपाल टोली ३–० को हार बेहोरेको थियो । त्यसपटक एकै पटक यी दुई टोलीबीच २००१ मा विश्व कप छनोटमा आमना सामना भएको थियो ।

जसमा पहिलो खेलमा ९–१ ले हारेको नेपालले अर्को खेलमा कडा टक्कर दिने क्रममा ४–२ को हार बेहोरेको थियो । त्यसबेला पहिलो पटक इराकको पोष्टमा नेपाली खेलाडी गोल गर्न सफल भए । नीराजन रायमाझीले पहिलो र दोस्रो दुवै खेलमा गोल गर्दा दोस्रोमा हरि खड्काले पनि गोल गरेका थिए । दुई दशकपछि हुने इराकविरुद्ध मैत्रीपूर्ण खेलमा यदि कुनै खेलाडी गर्न सफल भएको खण्डमा त्यो उनका लागि पनि स्मरणीय हुनेछ ।

इराकसँग खेलेपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ । स्रोतः हाम्रो खेलकुद ।