हेटौंडाः जिल्ला युवा समिति मकवानपुर र हेटौंडा नगर खेलकुद विकास समितिले गौरिटार आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गौरिटार आइसोलेसनमा स्वास्थ्य सामग्रीको अभाव भएको जानकारी प्राप्त भएपछि जिल्ला युवा समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले पिपिइ, सेनिटाइजर, मास्क र ग्लोब्स गरी ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री गौरिटार आइसोलेसनमा हस्तान्तरण गरेको हो ।

आइसोसनमा रहेका कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईंले जानकारी दिनुभयो । उहाँले सृजनशील कार्यको सुरुवात नै युवाहरुले गर्ने भएकाले कोरोना महामारी बिरुद्ध सबै एकजुट भै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

जिल्ला युवा समिति मकवानपुर अध्यक्ष शिबहरि दाहालले मकवानपुर जिल्लामा कोरोना महामारीको रुपमा दिन प्रतिदिन समुदायस्तरमा फैलिरहेको र संक्रमितको संख्या पनि तीव्र रुपमा वृद्धि भैरहेकोले स्वास्थ्यकर्मी र संक्रमितको सुरक्षाका लागि आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बाताउनुभयो । यसअघि जिल्ला युवा समितिले हेटौंडा अस्पतालमा २ पटक गरी १०० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइसकेको छ ।

कोभिड महामारीको अन्त्यका लागि सरकारले गरिरहेको प्रयासमा सबैले आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्नुपर्ने हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले बताउनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य किसन घिसिङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु कृष्ण लामिछाने, नरेन्द्र भण्डारी, बिश्वराज राई, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको उपस्थिति रहेको थियो ।