हेटौंडाः कोभिड–१९ संक्रमितको उपचारमा केन्द्रित गरिएको हेटौंडा अस्पतालले अब नियमित ओपीडी सेवा सुचारु गर्ने भएको छ । बिहीबारदेखि हेटौंडा अस्पतालले ओपीडी सेवा सुचारु गर्ने हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । मंगलबार मात्रै निमित्त मेसुको कार्यभार सम्हाल्नु भएका डा. सापकोटाका अनुसार साताको २/२ दिनका दरले ओपीडी सञ्चालन गरिनेछ ।
बाल स्वास्थ्य, स्त्री तथा प्रजनन् स्वास्थ्य, हाडजोर्नी, जनरल मेडिसिन लगायत अस्पतालबाट प्रदान गरिने सेवामध्ये साताको दुईदिनका दरले हरेक सेवाको ओपीडी सेवा सञ्चालन हुनेछ । जिल्लाकै ठूलो सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा दैनिक सयौं सर्वसाधारण स्वास्थ्य उपचारबाट बञ्चित हुनु परेको छ । साविकको अवस्थामा हेटौंडा अस्पतालमा औसत ४ सय जनाले ओपीडी सेवा लिने गरेका छन् ।
निजी अस्पतालमा ओपीडी सञ्चालन भइरहने तर सरकारीमा ओपीडी बन्द हुँदा सर्वसाधारणमा गलत सन्देश जाने भन्दै हेटौंडा अस्पतालमा ओपीडी सुचारु गर्न लागिएको डा. सापकोटाको भनाइ छ । हेटौंडा अस्पतालका केही चिकित्सक कोभिड वार्डमा पनि खटिने भएकाले कोभिड वार्डमा नखटिने चिकित्सकलाई प्राथमिकतामा राखेर ओपीडी सेवा सञ्चालन गरिने जानकारी गराउनुहुँदै डा. सापकोटाले भन्नुभयो, ‘कोभिड वार्डमा खटेका चिकित्सकहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ओपीडी सेवा प्रदान गर्नुहुनेछ ।’