हेटौंडाः आज उभौली । प्रकृतिपूजक किरात जातिले मनाउने प्रसिद्ध पर्व । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । प्रकृतिको आराधना गरिन्छ नाचद्वारा । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । त्यसैले यो पर्व सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।
उभौली पर्व मौसमसँग सम्बन्धित छ । दिन लामो हुन थालेपछि अर्थात् गर्मी महिनाको सुरुआतसँगै चिसो भूभागतर्फ उकालो लाग्ने गोठाले युगको सम्झना पनि गराउँछ यो पर्वले । अन्नबाली सप्रियोस्, बालीनाली राम्रो लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्न कमी नहोस्, सबैमा सुख–शान्ति–सुस्वास्थ्य रहोस्, दैवीप्रकोप तथा विपत्तिहरू नआऊन् भन्ने शुभ भाव लुकेको हुन्छ यो पर्वमा । वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाइन्छ ।
किरात समुदायले मनाउने उभौली र उधौली पर्व कृषि तथा पशुपालनसँग सम्बन्धित छन् । आज वैशाख शुक्ल पूर्णिमा उभौली हो भने मंसिर शुक्ल पूर्णिमा उधौली हो । उभौलीमा लगाइएको बाली उधौलीमा भित्र्याइन्छ । सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गर्छन् भन्ने विश्वास छ । त्यसैले उभौली सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । आजको दिन बालिनालीका रक्षक तत्वहरू प्रकृति, हावापानी, देवीदेवता र पृथ्वीको पूजा गरिन्छ ।