हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेण्डर आह्वान गरेको छ । कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक हप्ताको समय सिमा राखेर टेण्डर आह्वान गरेको छ ।
मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतल बताउनुभयो ।
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ८ अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।
प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै अक्सिजन प्लान्ट सञ्चालनमा छ । बाकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुबिधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको उहाँको भनाई छ । साथै मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एक एक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ । कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाएको छ ।