जुन घरमा वृद्धवृद्धा छन्, त्यो घरको बालबच्चा सबैभन्दा बढी वौद्धिक हुन्छन् । वृद्धवृद्धाले थरीथरीका अनुभव, नीतिकथा, चालचलनका जानकारी गराउँछन्, त्यो अनुभवले बालबालिकाले नैतिक विकासमा ठूलो टेवा पुग्छ । बुढाबुढी व्यक्ती मात्र होइनन्, सिङ्गो इतिहास र अनुभव हुन् । तपाईँ-हामी बुढाबुढीका साथमा छौँ भने संसारकै सबैभन्दा भाग्यमानी हुनेछौँ ।
हप्ताको एकदिन भए पनि वृद्धवृद्धासँग समय बिताउनु, अनुभव साट्नु, उनीहरूका कुरा सुन्नु र सहज जीवनका लागि ढाडस दिनु ठूलो मानवीय कार्य हो । यो अवसर सबैलाई प्राप्त पनि त हुँदैन नि ।
यी दिनहरू आफ्नै गाउँठाउँका छरछिमेकी वृद्धवृद्धासँग कुराकानीमा समय बिताउँदैछु । उहाँहरूका अनुभव, स्मरणयोग्य घटनाहरू बारे यहाँ चर्चा गरेको छु ।
एकजनाले वर्षभरीमा १५/१६ वटा श्राध्द गर्ने गरेको सुनाउँनुहुन्छ अधिकारी हजुरबा । अनी ६ हजारमा किनेको खेतबारीको मूल्य २ करोड पुगेको कुराले पैसाको मूल्य साह्रै सस्तो भएको बताउनुहुन्छ । एउटा जग्गाले अर्को जग्गा किनिरहेका मान्छेहरू पैसाले पैसा किनिरहेका छन् अरे ।
१ पैसामा लालपूर्जा बनाएको, अरूले १ पैसा पनि नभएर लालपूर्जा बनाउन नसकेको कुरा सुनेर अचम्म पनि लाग्यो ।
कति सालहरू त धान खानलाई श्राध्द, पूजा र दशैँ जस्ता चाड नै कुर्नु परेको कुराले मन छोयो । मकै, कोदोको ढिँडो खाँदा खाँदा घाँटीको प्वालै ठूलो भएको जस्तो भयो भन्दा अर्को पटक अवाक् भएँ । धान लाग्ने जग्गा हुनुलाई गर्वका साथ हेर्ने समय बारे जानकार भइयो ।
११ हजारमा ३१ कठ्टा जग्गा किन्दा स्थानीयले २ हजार बढी तिरेको भन्दै गाली गरेको (अहिले २।४ करोड लगभग) हाम्रा बाका कुरा सुन्दा अचम्म नै लाग्यो । उतिखेर २ हजारले त अर्को कित्ता नै किन्न सकिने पो रहेछ ।
३०/४० वटा बाख्रा, ४/५ वटा भैँसी, १८/२० वटा गाइ, सिङ्गै डाँडा कुँडार प्रयोग गर्ने परिवारलाई पनि पैसा चैँ देख्न मुस्किल हुने रहेछ । ऐँचोपैँचो नै मूख्य कारोबार रहेछ । मेलापातमा पर्म प्रथा अहिले पनि कायम नै छ । तर पैसा हुने र काम गर्न नसक्नेहरूले ज्याला दिएर काम लगाउँछन् । कृषिमा त्यसले फाइदा त दिँदैन नै तर खेतबारी बाँझो भने बस्दैन । हामीले देखेको फरक के हो भने आजकाल ज्याला गर्नेलाई कोल्ड ड्रिङ्क, कसैकसैलाई लोकल रक्सीसम्म खुवाउनुपर्छ । कृषी कार्य गर्न केही ठाउँहरूमा बियर र मासु अनिवार्य छ ।
२०४०/४२ सालमा १०० रूपियाँको मासिक व्याज १० रूपियाँ तिरेको, त्यसको वार्षिक कोशेली १ मुरी मकै, १ मुरी धान नतिर्दा झैझगडा परेको कुरा पनि सुनियो । धान रोप्ने, चुट्ने, मकै रोप्ने, भित्र्याउने समय साहुकै बारीमा बिताउनु पर्दा आफ्नो काम रातैभरी गर्नुपरेको सम्झँदा दुख पाउन मात्रै जन्मेको हो कि भन्ने परेको पीडा पनि सुनियो ।
बिबाहमा २ पैसे ढ्याक गोडा धोएर दिएको कुरा पनि चर्चाकै विषय बने ।
जङ्गलमा गोठ राखेर दुध, घ्यू, खुवा अत्यधिक खाइएको र त्यसैको आडले अहिलेसम्म बाँचेको कुरा सुवेदी ठूल्बा सुनाउँदै हुनुहुन्थ्यो ।
बाघको मुखबाट कलिलो बाच्छो थुतेर ल्याएको भन्ने आमाको कुराले म दङ्ग परेर हेरिरहेको थिएँ । सँगसँगै आधा रातमा एकपाथी दुध बेच्न होटल धाएको, अघीअघी गैँडाको हुल पछिपछि आफू हिँडेको बाको कुराले आङै सिरिङ्ग भयो ।
अहिले हरियो मकै बारीबाट ६ रूपैयाँ प्रतिघोगामा बेचेको कुरा अधिकारी हजुरबाले सुनाउँदा बजारमा ३० रूपैयाँमा बिक्री भैरहेको मैले जानकारी गराएँ । बीचको २६ रूपैयाँ अर्कैले खाइरहेको रहेछ, अहिले कृषिमा भैरहेको नै यही हो । वास्तविक किसान ज्यूँनु न मर्नुसँग कृषी धानिरहेका छन् ।
प्रधानमन्त्रीदेखि विपक्षी, सरकारदेखि सडकसम्मका कुरा पनि भए । तर तिनका कुरा गरेर को नै थाक्ने हो र सामन्तहरूको दबदबा रहेको समयमा हुर्किएर अहिले बुढेसकाल लाग्दासम्म रामराज्य आएको विश्लेषण सुनेर नयाँ वर्षको पहिलो दिनको भेट टुङ्ग्याइयो ।
वृध्दवृध्दाले हात थाप्दा केही दिन सकौँ, बाटो काट्दा सहयोग गर्न सकौँ, यात्रामा ठाउँ दिन सकौँ, लाइनमा बस्दा पालो दिन सकौँ । ज्यूँदा इतिहासहरूको जय होस्, जुग जुग जिउनुहोस् ।
(यो लेख डिल्लिपुरमा तयार गरिएको हो । जानु भएको छैन भने मनहरी गाउपालिकाको यो ठाउँ घुम्न जानुहोस् न है ।)