हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले अनलाइन परीक्षा लिने भएको छ । विद्यालयले अनलाइन परीक्षाको तालिका आइतबार सार्वजनिक गरेको छ । जेठ १३ गतेदेखि १८ गतेसम्म परीक्षा सञ्चालन हुने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले जानकारी दिनुभएको छ ।

कक्षा ८ को परीक्षा जेठ १३ गते गणित र स्वास्थ्य, १४ गते विज्ञान र पेशा व्यवसाय, १६ गते सामाजिक र नैतिक शिक्षा, १७ गते अंग्रेजी र कम्प्युटर र १८ गते नेपाली विषयको हुने छ । यसैगरी कक्षा १० को क्रमशः जेठ १३ गते ऐ. गणित, अर्थशास्त्र र नेपाली, १४ गते सामाजिक, स्वास्थ्य तथा वातावरण, १६ गते ऐच्छिक गणित, लेखा र कम्प्युटर, १७ गते विज्ञान र अंग्रेजी विषयहरुमा परीक्षा सञ्चलान हुने छ । परीक्षा गुगल फर्मको माध्यमबाट हुने बताइएको छ ।

कक्षा ८ को परीक्षा २० प्रतिशतलाई लिएर परीक्षाको नतिजा प्रकाशन हुने छ भने कक्षा १० भने निर्णय गर्न बाँकी रहेको बताउनुभयो । आधारभूत तहमा १ सय ८५ जना विद्यार्थी र कक्षा १० बाट ३ सय ७५ जना सहभागी हुने बैठाले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमण तिव्र भएको अवस्थामा उपमहानगरले आफ्नो उपयुक्त विधि अपनाएर कक्षा ८ को परीक्षा लिन आग्रह गरेसँगै परीक्षा लिन विद्यालयहरुले सुरु गरेका छन् ।

आधुनिक माविले रेडियोबाट पनि कक्षा सञ्चालन गरेको छ । अनलाइन माध्यमबाट पनि कक्षा सञ्चालन तथा परीक्षाको अभ्यास गरिसकेको प्रधानाध्यापक बैठाले बताउनुभयो । अनलाइन परीक्षामा ५ प्रतिशत विद्यार्थीलाई समेट्न नसकेको उहाँले बताउनुभयो । प्रविधिको पहुँच तथा इन्टरनेट सुविधा नभएका विद्यार्थीलाई समेट्न नसकिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई पढाइमा प्राथमिकता दिएर परीक्षा सञ्चालन गर्न लागेको विद्यालयले दावी गरेको छ ।