हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत जेनरेटर अक्सिजन प्लान्टको उद्घाटन गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा अस्पतालमा जेनरेटर अक्सिजन प्लान्ट जडान भई आजबाट संचालनमा आएको छ । करिब ३८ लाखको अक्सिजन जेनरेटर मकवानपुरका व्यवसायी दिपक खनालले उपलब्ध गराउनुभएको हो । उहाँले हेटौंडा उपमहानगरपालिकालाई प्लान्ट उपलब्ध गराउनुभएको हो । हेटौंडा उपमहानगरले प्लान्टको ३८ लाख व्यवसायी खनालले उपलब्ध गराउने भएपश्चा हेटौडा अस्पतालमा जडान गरिएको हो ।

अस्पतालमा जेनरेटर अक्सिजन प्लान्टले दैनिक १५ देखि २५ सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्ने हेटौंडा अस्पताल बिकास समितका सदस्य उत्सब चौलागाईले बताउनुभयो । अहिले दैनिक १५० देखि १८० अक्सिजन सिलिण्डर अस्पतालमा खपत हुँदै आएको छ । ३ सय भरेको अक्सिजन सिलिण्डर अस्पतालले स्टक राखेको छ ।

पछिल्लो समय विभिन्न संघ संस्थाको पहलमा अक्सिजन हेटौंडा अस्पताललाई सहयोग हुँदै आएको छ । यसले गर्दा पनि अक्सिजनको समस्या अहिलेलाई नभएको उहाको भनाई छ । चौलगाईका अनुसार अस्पतालमा अहिले ८ थान अक्सिजन कन्सन्ट्रेटर रहेको छ । स्वास्थ्य मन्त्रालयले ८ थान यसअघि उपलब्ध गराएको थियो भने प्रति मिनिेट १० लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयसँग माग गरिएको छ ।

अस्पताललाई कोभिड अस्पताल बनाइएपनि प्रसुति र आकस्मिक कक्ष भने संचालनमै छ । उनीहरुलाई अक्सिजन कन्सन्ट्रेटरको प्रयोग भएको छ । हाइ फ्लो अक्सिजन दिनुपर्नेलाई भने कन्सन्ट्रेटर प्रयोग गरिएको छैन । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जेनरेटर अक्सिजन प्लान्टको आज उद्घाटन गर्नुभएको हो ।