हेटौंडाः कोभिड–१९ ले सबैलाई त्रसित र ग्रसित पारिरहेको अहिलेको विषम परिस्थितिमा एकजना कलेजोसम्बन्धी बिरामीले सहयोगको अपिल गर्नुभएको छ । दुई वर्षदेखि कलेजो रोगबाट ग्रस्त हेटौंडा–३ का ४३ वर्षीय दिनेश दाहालले सहयोगको अपिल गर्नुभएको हो ।
अहिले जताततै कोरोना संक्रमणको त्रास र निषेधाज्ञाका सबै क्षेत्र बन्द छ । प्रायः निम्न वर्गका मानिसलाई विहान बेलुकाको हातमुख जोर्न गाह्रो भएको अवस्था छ । तर, दाहालको परिवारमा भने अर्कै आपत आइपरेको छ । ‘कोरोना भाइरस त के, कलेजो रोगले नै मेरो बुबा मर्नु न बाँच्नुको स्थितिमा हुनुहुन्छ’, दिनेशका जेठा छोरा दिवाकरले भन्नुभयो– ‘आर्थिक अभावकै कारण उपचारमा समस्या परेको छ । सबै सहयोगी मनहरुमा सहयोगको गर्न अपिल गर्दछु ।’
हालसम्म उपचारका लागि ४० लाख रुपियाँ खर्च भएको हुँदा आर्थिक अवस्था नै कमजोर भएपछि सहयोग गरिदिन आग्रह गरेको दहालले बताउनुभयो । घरपरिवारको आयस्रोत नै बुबा भएकाले परिवारमा जीविकोपार्जनका लागि समस्या भइरहेको दिवाकरले बताउनुभयो । दिवाकरको आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । हाल इष्टमित्र, छिमेकी, साथीभाइहरुले सक्दो सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
डाक्टरका अनुसार कोरोना भाइरस संक्रमण भए पनि पेटमा पानी जमेको र तत्काल उपचार गराउन आग्रह गरेका छन् । तर उपचारका लागि ६ लाख रुपैयाँ लाग्ने र ४ लाख रुपैयाँसम्म भएमा उपचार सुरु गर्न सकिने भएकाले दहाल परिवारले सहयोग गर्न आग्रह गरेका हुन् ।
आर्थिक अभावकै कारण उपचार रोकिएको हुँदा जतिसक्दो चाँडो सहयोगी मनहरुले सहयोग गरेमा आफ्नो बुबाको जीवन बाँच्न सकिने भन्दै दिवाकरले बुबालाई बचाइदिन आग्रह गर्नुभएको छ । उहाँलाई सहयोग गर्न ९८४९६९८२४२, ९८४५२८७३४७ मा इसेवा आइडीबाट, दिनेश दाहालको नाममा प्रभु बैंकको खाता नम्बर ०४६०१३३९७६९०००३१२ मा मोबाइल नम्बर ९८२४२४५३६४ मा सम्पर्क गरी सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।