फाइल तस्बिरः हेटौंडा ४ खोपेगल्लीको तरकारी बजार ।

हेटौंडाः निषेधाज्ञा अवधिभर हेटौंडाका सम्पुर्ण खाद्यान्न तथा तरकारीको पसलहरु पूर्ण रुपमा बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोना संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाभर हेटौंडा बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

आज बुधबार जिल्ला प्रशासन कार्यलय मकवानपुमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गतेसम्म हटौंडाको मुख्य बजार क्षेत्र उत्तरमा चौकीटोल, दक्षिणमा कर्राखोला, पूर्वमा क्याम्पा डाँडा र पश्चिममा थानाभर्याङ भित्रमा निषेधाज्ञा कडा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिनुभयो ।

यसअघि हप्तामा दुई दिन तरकारी तथा खाद्यान्न पसल सुचारु गर्ने निर्णय गरिएकोमा भिडभाड बढेको र कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैठकले सो क्षेत्रभित्रमा जेठ १३ गतेसम्म खाद्यान्न तथा तरकारी पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रशासनको यस निर्णयबाट हेटौंडाका तरकारी व्यवसायीहरु भने थप मारमा परेका छन् । पहिलो चरणको निषेधाज्ञाको क्रममा हरेक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य वस्तुहरुको पसल खोल्न पाइने अवस्थामै तरकारी पसल खुल्ने समयावधि वृद्धि गर्न माग गरेका तरकारी व्यवसायी साताको दुई दिनमात्र खोल्न पाउने भएपछि थप निराश बनेका थिए । अब पूर्ण रुपमा व्यवसाय नै बन्द गर्नुपर्ने निर्णयले व्यवसायीलाई थप समस्या भएको व्यवसायीहरुको भनाई रहेको छ ।