हेटौंडाः नवसर्जक साहित्य चौतरी नेपालद्वारा नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियानको वार्षिकोत्सव समारोहको अवसरमा प्रतिनिधि सिर्जना वाचन एवम् विमर्श कार्यक्रम गरिएको छ । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।
उपकुलपति गुरुङले अहिलेको पुस्तालाई मध्यनजर गरी यस्ता सर्जकहरु उत्पादन गर्नु गौरवको कुरा रहेको बताउनुभयो । बालबालिकामा दक्षता, सक्षमताको विकासमा जोड दिनुका साथै रुपान्तरण भई सुन्दर नमुना मात्र नभई अनुपमको रुपमा सर्जकहरुको संस्था क्रियाशील हुनुपर्ने बताउनुभयो । सर्जकहरु राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्ना लेखन शैली, समाजका विकृति उजागर गर्नुका साथै प्रतिभा प्रष्फुटन गराउन साथ दिने उपकुलपति गुरुङले बताउनुभयो । काव्यको लेखनमा धेरै अग्रसर हुनुपर्ने र प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रममा सर्जकहरु समेटिन सक्ने पनि उहाँको भनाइ थियो ।
कार्यक्रम नजसर्जक साहित्य चौतरी नेपालकी अध्यक्ष प्रसान्न चौलागाइको सभाध्यक्षतामा भएको हो । सर्जकहरुको कविता, गीत, गजल जस्ता रचना वाचन गर्नुका साथै समिक्षा समेत भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ परिषद्का सदस्य डा. देवी नेपाल, अतिथिहरु प्राज्ञ सभा सदस्य डा. गीता त्रिपाठी, पदम विश्वकर्मा, डा. ध्रुवकुमार घिमिरे, निमेष निखिल, नजसजर्नक साहित्य चौतरी नेपालका संयोजक दीपक गौतम, नवसर्जक साहित्यिक चौतरी नेपालका सचिव समर्पण न्यौपाने लगायतको उपस्थिति थियो ।