हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । मनहरी–८, सिम्पानीमा रहेको जय मनहरी बालुवा उद्योगले शुक्रबार दुई वटा अक्सिजन ग्यास भरिएको सिलिण्डर र दुई वडा खाली सिलिण्डर कोभिड अस्पातललाई सहयोग गरेको हो ।
उद्योगका सञ्चालक सागुन लामाले सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । हातधुनका लागि दुई सय लिटरको पानी ट्याङ्की, स्ट्याण्ड र २५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । यसैगरी क्रसर व्यवसायी मनहरीले २ वटा अक्सिजन ग्यास भरिएको सिलिण्डर र २५ वटा खाली सिलिण्डर सहयोग गरिएको छ ।
कोभिड अस्पताल मनहरीलाई ४ वटा भरिएको अक्सिजन ग्यास सिलिण्डर र २७ वटा खाली सिलिण्डर गरी जम्मा ३१ वटा अक्सिजन ग्यास प्राप्त भएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय मनहरीलाई १० प्याकेट मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको छ ।