चुरेहिल हस्पिटल र सहकारी अस्पतालले शुक्रबार दिउँसो संयुक्त रुपमा जारी गरेको विज्ञप्ति ।

हेटौंडाः अक्सिजनको अभावमा हेटौंडास्थित दुईवटा निजी अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको छ । केही दिन अघि मात्रै कोभिड अस्पतालको रुपमा सेवा सुरु गरेका दुबै अस्पतालले पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा शुक्रबारदेखि कोभिड संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको हो ।

शुक्रबार दिउँसो संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा उपचार प्रभावित हुने जनाएको छ । हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालमा ६ जना उपचाररत छन् भने हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलमा ४ जना कोभिड–१९ संक्रमित विरामी उपचाररत छन् । दैनिक दुबै अस्पताललाई करिब ३० सिलिण्डर अक्सिजन आवश्यक हुने बताइएको छ ।

चुरेहिल हस्पिटलले बिहीबार ५ सिलिण्डर मात्रै अक्सिजन प्राप्त गरेको अस्पतालका प्रशासन प्रमुख विवेक मानन्धरले जानकारी दिनुभएको छ । यस्तै मकवानपुर सहकारी अस्पताललाई भने आज ५ सिलिण्डर अक्सिजन उपलब्ध गराउन सक्ने जानकारी प्राप्त भएको सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा सेवा प्रभावित हुने निश्चित भएको दुबै अस्पतालका अधिकारीको भनाइ छ । यसअघि बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पतालले पनि अक्सिजनको अभावमा कोभिड–१९ संक्रमितको उपचार प्रभावित हुने जनाएको छ ।