हेटौंडाः मकवानपुरमा जारी निषेधाज्ञा थप हुने भएको छ । शुक्रबार राति १२ बजेबाट जिल्लामा जारी निषेधाज्ञा सकिँदै छ । बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सिफारिस गरेको छ ।

अहिले जारी निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ । हालका लागि जिल्लाको हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी छ । बाँकी अन्य स्थानीय तहहरुमा पनि शुक्रबार रातिबाट निषेधाज्ञा जारी हुने भएको हो ।

यसैगरी ईन्द्रसरोबर गाउँपालिकाले गाउँपालिकामा रहेको सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट अतिआवश्यक सेवा बाहेकको सबै सेवा बन्द गरेको अवस्था छ । राक्सिराङ गाउँपालिकाले शुक्रबारबाट लागू हुने गरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।