हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा भोलि शुक्रबारबाट निषेधाज्ञा जारी गरिएको छ । अर्को सुचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
राक्सिराङ गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु शुक्रबारबाट बन्द गरिनेछ । महामारीको रुपमा नयाँ भेरिन्ट सहितको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिका प्रवेश गर्ने नाका बन्द गर्ने र गाउँपालिकाबाट अतिआवश्यक सेवामात्र प्रवाह हुने भएको छ ।
गाउँपालिका प्रवेशका मुख्य नाकाहरु मनहरी चैनपुर सडक, नेवारपानी कोलगैरी सडक, सिम्पानी सरिखेत सडक, भण्डारा खर्खडेटार, काँकडा सडक र खरङ्ग भाटी सडकबाट हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतहरु बन्द गरिने अध्यक्ष मल्लले बताउनुभयो ।
यसैगरी निषेधाज्ञामा सार्वजनिक स्थलहरुमा अनावश्यक हिडडुल गर्न, सार्वजनिक कार्यक्रम, सभा समारोह, बिहे, भोजभतेर, गासा, छेवर, जात्रा, भेला महोत्सव, हाटबजार संचालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । स्थानीय गौरवका आयोजनाहरु भने जनस्वास्थ्यका मापदण्डहरु पालना गरी सुचारु हुनेछ ।
गाउँपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहहरु अर्को सुचना जारी नभएसम्म बन्दगरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।