गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–१७ हटियामा शुक्रबार २२ वर्षका नातिले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । शुक्रबार दिउँंसो ४ बजेको समयमा नाति आकाश गुरुङले ९२ वर्षकी हजुरआमा कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरेका हुन् ।

आकाशले बन्चरो प्रहार गरी घाइते बनाएको छिमेकीले देखेपछि कान्छीमायालाई हेटौंडा अस्पताल ल्याएपछि चिकित्सले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । नाति आकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हजुरआमा र नाति एकै घरमा बस्दै आएका थिए । उनीहरु मिल्ने गरेको छिमेकीहरुले बताएको प्रहरीले जानकारी दिएको छ । तर नशामा नातिले हजुरआमालाई बन्चरो प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि नातिको मेडिकल परीक्षण गरेपछि र अनुसन्धान हुँंदा एक दुई दिनमा सत्यतथ्य बाहिर ल्याउने प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो ।