हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा लगाइएको निषेधाज्ञाका कारण उच्च अदालत पाटन हेटौंडा इजलास र जिल्ला अदालत मकवानपुरले आफ्नो दैनिक सेवामा कटौती गरेको छ ।
उच्च अदालत पाटन हेटौंडा इजलासको अँइतबार बसेको फुलकोर्टले निषेधाज्ञाको अवधिमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई गर्ने निर्णय गरेको छ । यसैगरी कोभिड—१९ सम्बन्धी रिट निवेदन दर्ता एवम् सुनुवाई गर्ने र यस अदालतको सुरु कारवाही किनारा हुने मुद्दाको पक्राउ पूर्जी जारी गर्ने, जरुरी पक्राउ अनुमति, म्याद थप, अभियोग दर्ता, बयान र थुनछेकमात्र गर्ने फुलकोर्टले निर्णय गरेको अदालतका निमित्त रजिष्ट्रार वत्सराज कोइरालाले जानकारी दिनुभयो । यीबाहेक अरु मुद्दा यो अवधिमा अदालतमा दर्ता, सुनुवाई तथा कुनै पनि काम कारवाही नहुने भएको छ ।
यसैगरी जिल्ला अदालत मकवानपुरले सजाय निर्धारणबाहेक अन्य पेशी स्थगन गरेको छ । निषेधाज्ञाको अवधिभर तारेख दिने र वकपत्र गर्ने काम पनि रोकेको छ । यो अवधिमा मुद्दाका पक्षहरुको म्याद र तारेख नगुज्रने र वैकल्पिक व्यवस्थाको रुपमा अनलाइनबाट वहस पैरवी गर्न सकिने व्यवस्था गरिएको जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार अमृत घिमिरेले जानकारी दिनुभयो ।