सामाजिक विकास मन्त्री सरस्वती बस्नेत

हेटौंडाः बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधिलाई सक्रिय बनाउने बताउनुभएको छ । जनचेतना अभिवृद्धि गर्न, आवश्यक सतर्कता अपनाउन समुदायस्तरमा स्थानीय जनप्रतिनिधिलाई परिचालन गर्ने बताउनुभएको हो ।

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणको अवस्था तथा नियन्त्रण गर्न प्रदेश सरकारले गरिरहेको प्रयासबारे जानकारी दिनु आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोना नियन्त्रणमा प्रदेश सरकारले आवश्यक सबै कार्य गर्ने उल्लेख गर्नुहुँदै नागरिकलाई अनुशासित हुन आग्रह गर्नुभएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेलले जिल्लामा स्वास्थ्य प्रमुखलाई सक्रिय बनाएर कोरोना भाइरस नियन्त्रणमा आवश्यक तयारी गरिने बताउनुभयो । सर्वसाधारणको मनोवल उच्च बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सञ्चार माध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाइले बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी गराउनुभएको थियो । बागमती प्रदेशमा १ लाख ८३ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको र २१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिनुभएको छ ।