हेटौंडाः बागमती प्रदेशको पाँच जिल्ला अस्पतालमा ठूलो खालको अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गरेर अक्सिजन उत्पादन गर्न सुरु गर्ने भएको हो । प्रदेशको सिन्धुली अस्पताल र त्रिशुली अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेर उत्पादन सुरु भइसकेको सामाजिक विकास मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताउनुभयो ।
‘प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दैछ’, उहाँले भन्नुभयोे, ‘अहिले सिन्धुली जिल्ला अस्पताल र नुवाकोटको त्रिशुली अस्पतालमा अक्सिजनको ठूलो प्लान्ट राखिएको छ ।’ यसैगरी प्रदेशको धादिङ र भक्तपुर जिल्ला अस्पतालसँग अक्सिजन प्लान्ट राख्न सम्झौता भई उत्पादनको अन्तिम चरणमा पुगिसकेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा समेत ठूलो अक्सिजन प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ । अहिले हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुँदै आइरहेको छ । तर निकट भविष्यमा अस्पतालले नै अक्सिजन उत्पादन गरेर सिलिन्डरमा बिक्री गर्ने प्रवक्ता सेढाईंले बताउनुभयो ।
कोभिड–१९ को अहिलेको अवस्थामा प्रदेशमा अक्सिजन अभाव नहुने उहाँको भनाई छ । पाँचै अस्पतालबाट अक्सिजन उत्पादन भएर सिलिन्डरमा भरेर अन्यत्र लैजान सकिने उहाँले जनाउनुभयो । यसैगरी स्वास्थ्य आपू्र्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशसले ठूलो सिलिन्डर ८० थान मौज्दात राखेको छ । ‘केन्द्र सरकारबाट पनि अक्सिजन सिलिन्डर उपलब्ध हुँदैछ भने प्रदेश सरकारले सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको छ’, उहाँले भन्नुभयोे, ‘हामीले अक्सिजनको अभाव नै नहोस् भनेर काम गरिरहेका छौं । सकभर त्यस्तो समय नआएपनि हामी तयारी अवस्थामै छौं ।’ प्रदेशको पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन दिन सकिने डा. सेढाईको अनुमान छ ।
यता नुवाकोटको त्रिशुली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको छ । प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट राखेर प्रतिमिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अस्पतालको ५० बेडमा अक्सिजन जाने भएपनि ७६ थान अक्सिजन सिलिन्डर अस्पतालले स्टक राखेको छ । ‘अक्सिजन उत्पादन गरेर सिलिन्डरमा भर्ने कार्य भने अहिले भएको छैन । अबको १५ दिनभित्र बुस्टर खरिद भएर आएपछि उत्पादित अक्सिजनलाई सिलिन्डरमा भरिनेछ’, उहाँले भन्नुभयो । खरिद प्रक्रिया अघि बढिसकेको र कोभिडको यस्तो समयमा अस्पतालमा अक्सिजन उत्पादन भएपनि सिलिन्डरमा भने प्रयोग नभएको जानकारी दिँदै अहिलेसम्म अस्पतालले उत्पादन गरेको अक्सिजन प्रयोगमा आएको उहाँले बताउनुभयो ।
सिन्धुली जिल्ला अस्पतालले जडान गरेको अक्सिजन प्लान्टले २४ घण्टामा १४ सय लिटर अक्सिजन उत्पाद गर्नसक्छ । अहिले अस्पतालले उत्पादन गर्ने अवस्थामा भने छैन । अस्पतालमा जनशक्ति अभाव रहेकाले कोभिड अस्पताल सञ्चालन हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधानले जानकारी दिनुभयो । अक्सिजन प्लान्ट राखिए पनि बुस्टर आवश्यक पर्ने भएकाले त्यसको खरिद प्रक्रिया अघि बढाएको उहाँको भनाई छ । ‘अक्सिजन प्लान्टमा बुस्टर जडान भएपश्चात् २४ घण्टामा १४ सय १० लिटर अक्सिजन उत्पादन हुनेछ । उत्पादन भएको अक्सिनज सिलिन्डरमा समेत राखेर बिक्री गर्न सकिन्छ’, मेसु प्रधानले भन्नुभयो । अक्सिजन प्लान्ट चल्दा मासिक २ लाखको बिजुलीको शुल्क उठ्छ । सिलिन्डरमा अक्सिजन भरेपछि बिक्री गरेर त्यसको पूर्ति गरिने उहाँको भनाई छ ।